सांसद लिम्बूद्वारा १ लाख सहयोग

विराटनगर । मोरङ क्षेत्र नं १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)ले विपद कोषमा १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

सांसद लिम्बूले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको समयमा दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएका विपन्न परिवारलाई राहत प्रदानका लागि सो सहयोग गर्नुभएको हो ।

उहाँले उर्लाबारी नगरपालिकाको विपद कोषमा ५० हजार र मिक्लाजुङ गाउँपालिका विपद कोषमा ५० हजार प्रदान गर्नुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीलाई सांसद लिम्बूले नगद ५० हजार प्रदान गर्नुभएको थियो ।

यस्तै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दुई वटा स्थानीय तहको राहत कोषमा समान रकम प्रदान गर्नुभएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न सबैलाई घरभित्रै बसिदिन स्थानीयलाई सांसद लिम्बूले अपिल गर्नुभयो ।

राहत वितरण एकद्धार प्रणालीमा सरकारले अघि बढाएकाले सबैलाई सोही अनुसार सहयोग गर्दिन पनि उहाँले आग्रह गर्नुभयो । राहत वितरणमा पक्षविपक्ष भन्दा पनि दुई छाक खान नपाएका परिवारलाई प्राथमिकतामा राखेर राहत वितरण अघि बढाउन सम्बन्धित वडा कार्यालयहरुलाई सांसद लिम्बूले अनुरोध गर्नुभएको छ ।

यसैगरी रोटरी क्लव अफ उर्लाबारीले ५१ हजार ९ सय ८० रुपैयाँ तथा मोरङ सुनचाँदी व्यवसायी संघ उर्लाबारीले ५१ हजार ४ सय मूल्य बराबरको खाद्य सामाग्री उर्लाबारी नगर प्रमुख फागोलाई प्रदान गरेको संघका महासचिव ज्ञानु श्रेष्ठले बताउनु भयो ।

शुक्रबार, २८ चैत, २०७६, साँझको ०६:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर