विराटनगर । विराटनगरमा रहेको भाटभटेनी सुपर मार्केटले अंकित मूल्य भन्दा बढीमा खाद्यवस्तु बिक्री गरी उपभोक्ता ठगि गरेको पाइएको छ ।
बिहीबार भाटभटेनीले बिक्री गरेको भारतीय कम्पनी अमुल ब्राण्डको २०० ग्राम बटर अंकित मूल्य भन्दा २ सय २१ रुपैयाँ बढी लिएर बिक्री गरेको पाइएको हो ।
भाटभटेनीले बेचेको बटरको अधिकतम बिक्री मूल्य (एमआरपी) २३५ भारतीय रुपैया छ । सो बटरको मूल्य नेपाली बजारमा ३ सय ७६ रुपैयाँ हुन्छ । तर भाटभटेनीले उक्त वस्तु ५ सय ९७ रुपैयाँमा बिक्री गरेको थियो ।
बिहीबार विराटनगरका एकजना उपभोक्ताले भाटभटेनीबाट २ सय ग्राम बटर खरिद गर्नुभएको थियो । लकडाउनको समयमा थोरै समय लिएर किनमेल गर्नुपर्दा त्यहाँ मूल्यमा ध्यान नपुगेको र घरमा आएर हेर्दा बिल र एमआरपीमा धेरै अन्तर पाएको उहाँले बताउनुभयो ।
भाटभटेनी सुपर मार्केट विराटनगरका व्यवस्थापक सरिता राईले २३५ रुपैयाँ आइसी (भारतीय मुद्रा) मूल्य तोकिएको भएपनि त्यसमा मूल्य अभिवृद्धि कर, भन्सार कर लगायत अन्य कर जोडिएका कारण त्यसको मुल्य ५९७ कायम भएको बताउनुभयो ।