विराटनगरको टोलटोलमा ‘फिभर क्लिनिक’

विराटनगर ।  कोरोना संक्रमण रोकथाम तथा पहिचानको लागि बिराटनगर महानगरपालिकाले टोलटोलमा फिभर क्लिनिक सञ्चालन भइरहेको भएको छ।

कोरोना र मौसमी रुघाखोकी तथा ज्वरोको लक्षण मिल्दोजुल्दो हुने भएकाले स्थानीयमा त्रास फैलिन सक्ने भन्दै महानगरले टोलटोलमा क्लिनिक सञ्चालन भइरहेको स्वास्थ्य शाखा अधिकृत दिलिप यादवले बताउनुभयो ।

सबै वडामा रहेका फिभर क्लिनिकमा शंकास्पद विरामीको परीक्षण गर्ने गरिएको महानगर स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणमा शंकास्पद देखिएमा तीन जना चिकित्सकले थप परीक्षण गर्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने कि के गर्ने भन्नेबारे निर्णय गर्ने गरिएको छ ।

लकडाउन भएदेखि विदेशबाट आएकाहरुका लागि होम क्वारेन्टाइनमै बस्ने व्यवस्था गरेको र महानगरले नियमित अनुगमन गरिरहेको जनाएको छ । वडा कार्यलयको समन्वयमा हरेक व्यक्तिको विवरण राख्ने र नियमित स्वास्थ्य अवस्थाबारे बुझ्ने काम भइरहेको महानगरको भनाइ छ। धेरै मान्छेहरु लुक्न खोजिरहेको तर महानगरले संयन्त्र बनाएर पहिचान गरिरहेको यादवले बताउनुभयो ।

महानगरमा चैतयता विभिन्न देशबाट ३ सय १८ जना आएको र उनीहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ । १४ जना महानगरको क्वारेन्टाइनमा बसेकोमा ३ जना १४ दिन पूरा गरेर घर फर्किसकेका छन्। बाँकी ११ जनालाई क्वारेन्टाइनमै राखिएकोछ। सम्भावित जोखिमलाई हल गर्न बैजनाथपुरमा हेल्थपोस्टमा २० शय्या, अतिथि सदन ४० शय्या सहित २ सय २० शय्याको क्वारेन्टाइन निर्माण भएको छ।

प्रदेश १ सरकारसँगको सहयोगमा कोरोना रोकथामको लागि उच्च सतर्कता अपनाइएको महानगरले जनाएको छ। अहिले जोगबनी नाकाबाट मान्छेको आवगमन शून्य छ। तर मालवाहक गाडी नेपाल भित्रिइरहेकाले गाडीका चालक र सहचालकको ‘थर्मल गन’बाट तापक्रम परीक्षण गरेर मात्र नेपाल छिर्ने व्यवस्था मिलाइएको छ।

शुक्रबार, २८ चैत, २०७६, बिहानको ११:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर