डा.बालकृष्ण साह
राजीव कोईराला प्रदेश नं. १ का परिचित नाम हो । प्रदेश १ प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कोइरालाले पहिलो प्रदेश सभामा कुनै मन्त्रालयको जिम्मेवारी लिएनन् । उनले प्रतिपक्षको भूमिका जिम्मेवारी र जवाफदेहीका साथ पूरा गरेका थिए । पदका लागि राजनीति गर्ने, मन्त्री बन्नका लागि अनेकौ रणनीति बनाउने अनि दाउपेच रच्ने वर्तमान अवस्थामा पनि समाजवाद, राष्ट्र र राष्ट्रियताका लागि सहकार्य र सहमतिका बाटो रोज्ने कोईराला आफ्ना समकालीन तथा पछिका नेतालाई मन्त्री बनाए, तर आफू बनेनन् ।
घोषणपत्रमा अनेक सपना देखाउने, आश्वासन दिने र विकासको ग्यारेन्टी गर्ने चलन छ । चुनावपछि सबै बिर्सने नेपाली नेताहरुका बानी नै हो । तर, राजीव कोईराला यथार्थ र सत्य कुरा मात्र गर्ने र आफ्ना कुरामा अडिग रहने गरेको देखिन्छ । अचम्म त के छ भने उनलाई आफ्नो क्षेत्रका १८ बटा वडाहरुको वास्तविकताहरु कण्ठस्त हुन्छ र आफ्ना योजनाहरुमा प्राथिमकतामा राखेको देखिन्छ । बबियाको शिवमन्दिरमा रहेको धर्मशाला निर्माण, बलाहाको सनातन संस्कृति संरचना भौतिक निर्माण, कप्तानगञ्जको कब्रस्तान घेराबेरा जस्ता अनेकौं धार्मिक संरक्षणमा सहयोग गरेका उनीसँग कसैले धाउनुपर्ने बाध्यता थिएन । शनिश्चरे मा.वि.डुम्राहामा भवन निर्माण, धुरहाको खेलमैदान, देवानगञ्जको ईस्लामिक मर्दसाको जिर्णोद्धार, देवानगञ्जको कृषि प्राविधिक कार्यालय जस्ता आवश्यकताहरु आफंैले बुझेर व्यवस्थापन गर्ने कोईराला ‘सपना होइन, विकास बाँड्ने’ अभिभावकका रुपमा चिनिने गरिन्छ ।
चुनाव अगाडि जनतासामु लम्पसार पर्ने, खुट्टा ढोग्ने अनि चुनावपछि ‘बाल–मतलव’ गर्ने राजनीतिक संस्कार छ । चुनावपछि पनि कोईरालाले सुनसरी छाडेनन् । जनताका सुखदुख, जन्ममृत्यु, विवाह–ब्रतबन्ध आदि सामाजिक कार्यमा सरिक भई अभिभावकत्व देखाउने कोईरालाले कांग्रसीहरुलाई मात्र आफ्ना सम्झेनन् बरु सबैको साथमा रहे र सकेको सहयोग गरे ।
पछिल्लो चरणमा नेताहरुले कुर्सी र पावरको दुरुपयोग गर्दै भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने गरेका छन् । यस कार्यमा पनि ‘क्लिन’ रहेका राजीव कोईरालाले राज्यकोष दुरुपयोग गरेको तथा संघ–संस्थाहरुमा गलत तरिकाले आफ्ना भाइभारदार, भरौटेहरुलाई जागिर दिएका छैनन् । कोईरालासँग न त विभिन्न विकास निर्माणका लागि संकलन गरिएका समाजिक संस्थाहरुको पैसा छ, न त नहर तथा अन्य निर्माणको लागि राज्यकोषको पैसा छ । आफ्ना भरौटेहरुलाई काम नै नगरी तलब आउने गरी कतै भर्ति पनि गराएनन् । त्यसैले कोईरालासँग चुनावमा बाँड्ने पैसा कम होला, तर विकासप्रेमी जनताको साथ, गरिबको माया अनि अग्रजको आर्शिवाद अवश्य छ । कोईरालासँग विकासका योजना र जनताप्रतिको जवाफदेहिता र जिम्मेवारीबोध छ ।