कोरोनाको परीक्षण अब विराटनगरबाटै

विराटनगर । कोरोना भाईरस (कोभिड १९) को शंकास्पद विरामीको नमूना परीक्षण विराटनगरबाटै गरिने भएको छ । कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण गरिने भएको हो ।

विराटनगरबाट कोरोना परीक्षणका लागि आवस्यक तयारी गरिएको प्रदेश नंं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । परीक्षणका लागि आवस्यक उपकरणहरु र केमिकलहरु आज हेलिकप्टरबाट विराटनगर आईपुगेको मन्त्री घिमिरेले बताउनुभयो ।

हेलिकप्टरमार्फत विराटनगर झारिएको कोरोना परीक्षण सामाग्री ।

उहाँले भन्नुभयो, ‘संभवत भोलीदेखि परीक्षणको तयारी गरिएको छ ।’ कोशी अस्पतालबाट नमूना परीक्षण शुरु भएपछि दैनिक करिव ९६ जनाको नमूना संकलन गर्न सकिने मन्त्री घिमिरेले बताउनुभयो । सुनसरीको धरानबाट दैनिक करिव २० जनाको सम्म नमूना संकलन भईरहेको उहाँले बताउनुभयो ।

नमूना संकलन गर्नुपर्ने संख्या बढेसँगै विराटनगरबाट पनि परीक्षण शुरु गर्न लागिएको सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रदेश नं. १ का १४ जिल्लाबाट नमूना संकलन गरि धरान र विराटनगरमा परीक्षण गरिने छ ।’

विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साईन्टीस् तथा कोरोना परीक्षण विज्ञ समूहका वलराम गौतमले बताउनुभयो । यसैवीच भोलीदेखि प्रदेश नंं १ का क्वारेन्टाईनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिने भएको छ ।

भोली झापाको मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाईनमा रहेकाहरुको आरडिटी शुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिनुभयो । आरडिटीका लागि प्राविधिकहरुलाई तालिम दिईसकीएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ आरडिटीमा शंकास्पद देखिएमा कोरोना परीक्षण हुनेछ ।’ उहाँका अनुसार पहिलो चरणमा ५ हजारको टेष्ट गरिने छ ।

बिहिबार, २७ चैत, २०७६, साँझको ०६:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर