चुनावी ब्याटलः मोरङ ५

मोरङ ५ को चुनाबी चर्चा : रोकिएला त मण्डलको ह्याटि्रक ?

सत्ता गठबन्धन एकताबद्ध देखिँदा एमाले–जसपा गठबन्धन भने यो क्षेत्रमा विभाजित अवस्थामा छ ।

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा यसपटक रोचक प्रतिष्पर्धाको एउटा क्षेत्र हो, मोरङ ५ । यसअघिका विजेतासमेत रहेका माओवादी नेता शिवकुमार मण्डल, जनता समाजवादी पार्टीका राजकुमार यादव र एमालेबाट विद्रोह गरेर उम्मेद्वार बनेका योगेन्द्र मण्डल यहाँका मुख्य प्रतिष्पर्धी हुन् ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन छाड्नुको कारणमध्ये एक हो, विराटनगर महानगरपालिकाको चुनावमा ‘धोका’ पाउनु । नेपाली कांग्रेसका नागेश कोइराला मेयरमा निर्वाचित हुँदा यादवका छोरा अमरेन्द्र उपमेयरमा पराजित भएका थिए । त्यसलाई यादव स्वयंले कांग्रेसले दिएको धोका भन्ने गरेका छन् ।

मनोनयन दर्ताको अघिल्लो दिन सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग तालमेल गर्न पुगेका यादवले मोरङमा कुनै समय आफू लडेको क्षेत्र नम्बर ५ छाडेनन् । दोस्रो संविधानसभा निर्वाचन–२०७० मा यादव यो क्षेत्रबाट चुनाव लडेका थिए, तर जित्न सकेनन् । जसपा नेताहरुका अनुसार यो पटक उनी आफैं आउने सम्भावना थियो । तर, सप्तरी २ भन्दा पनि असुरक्षित देखेपछि नआउने निर्णयमा पुगे र मोरङ अध्यक्ष राजकुमार यादवलाई उम्मेदवार बनाए ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल उम्मेदवार बनेका छन् । मोरङ ५ बाट प्रतिनिधिसभा सदस्यका लागि यादव र मण्डलसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् भने योगेन्द्र मण्डल स्वतन्त्र उम्मेदवार छन् ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक मण्डल पाँच वर्षयता चुनावी तयारीमा थिए । एमाले नेताहरूका अनुसार ०६४ यता पार्टी कमजोर रहेको यो क्षेत्रमा संगठन विस्तारमा मण्डलले नै अगुवाइ गरेका थिए । तर एमालेले यो क्षेत्र जसपालाई छाडेपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । जनताको सल्लाहमा उम्मेदवारी दिएको भन्दै उनले भने, ‘राम्रो रेस्पोन्स पाइरहेको छु ।’ चापाकल चुनाव चिह्न पाएका उनले जति भोट पाउँछन्, यो अधिकांश एमाले समर्थककै हुनेछ । यसरी एमाले–जसपा गठबन्धन यो क्षेत्रमा विभाजित देखिन्छ ।

सत्ता गठबन्धन भने एकतावद्ध देखिएको छ । यो क्षेत्रमा नेपाली कांग्रेस पहिलो पार्टी हो । २०७० मा चुनाव जितेका र अघिल्लो पटक शिवकुमार मण्डलसँग पराजित भएका कांग्रेस नेता अमृत अर्याल यो पटक पनि टिकटका आकांक्षी थिए । तर सत्ता गठबन्धनको भागवण्डामा यो क्षेत्र माओवादीको भागमा परेपछि अर्याल मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभा निर्वाचन क्षेत्रमा झरेका छन् । र, मण्डलले पार्टीको संगठनमा बलियो पकड बनाएका अर्यालको राम्रो साथ पाएका छन् ।
२०६४ सालको अन्तरिम संसदको मनोनीत सदस्य मण्डलले २०६४ यता निरन्तर चुनाव लडिरहेका छन् । उनी पहिलो संविधानसभा निर्वाचन–२०६४ मा उपेन्द्र यादवसँग पराजित भए । दुई क्षेत्रबाट चुनाव जितेका यादवले मोरङ ५ छाडेपछि २०६५ मा भएको उपनिर्वाचनमा पनि मण्डल उम्मेदवार भए, तर जसपाका जयराम यादवसँग पराजित भए ।
२०७० सालमा ८ मत अन्तरले विजयी भए । तत्कालीन ४ (हाल ५) बाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३५२ मत पाएका थिए । २०७४ मा मण्डल २२ हजार ९४५ मतका साथ विजयी हुँदा अर्यालले १९ हजार १५३ मत पाएका थिए । यो चुनावमा जसपाका उम्मेदवार यादव भने तेस्रो भएका थिए । सत्तारुढ गठबन्धनबाट क्षेत्र नम्बर ५ को प्रदेशसभातर्फ ‘१’ मा गयानन्द मण्डल र ‘२’ मा अमृत अर्याल उम्मेदवार छन् । दुवै उम्मेदवारले पालैपालो मण्डलसँग हारेको संयोग पनि छ । २०७० सालमा गयानन्द ८ भोटले पराजित भएका थिए भने २०७४ मा अर्याल ३ हजार ७९२ मतका साथ पराजित भए ।

एमाले–जसपा गठबन्धनबाट १ मा एमालेका सन्तोषकुमार साह र २ मा जसपाका जयराम यादव उम्मेदवार छन् । यादव प्रदेश १ का स्वास्थ्यमन्त्री समेत हुन् । उनको क्षेत्रमा तालमेलको सहमति अस्वीकार गर्दै एमालेबाट प्रदेशसभाका निवर्तमान सदस्य बसन्तीदेवी यादवले बागी उम्मेदवारी दिएकी छन् । ‘एमालेबाट सहमतिको पालना भएन, तर अहिले बोल्ने अवस्था छैन,’ जसपाका एक नेता भन्छन्, ‘आफ्ना उम्मेदवार भएको स्थानमा स्वस्थ प्रतिस्पर्धा गर्छौं ।’
एक लाख ४९४ जना मतदाता रहेको क्षेत्र नम्बर ५ को दक्षिणी सीमा भारतसँग जोडिएको छ । यो क्षेत्रमा सडक पूर्वाधार, कृषि र सीमापार चोरी निकासी पैठारीको समस्या छ । चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले पनि सडक पूर्वाधार, कृषि रोजगारी र नागरिकताको समस्या सामाधान आश्वासन दिएका छन् ।

जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानको नागरिकताको पनि समस्या छ । घरदैलोमा जाँदा उम्मेदवारले नागरिकताको समस्या सामधान गर्नका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाइरहेका छन् । माओवादी केन्द्रका नेता भोगेन्द्र यादवले सडक पूर्वाधार, विजुली, शिक्षा, स्वास्थ्य, रोजगार, कृषिलाई व्यवसायीकरणको मुद्धालाई प्राथमिकतामा राखिएको बताउँछन् । नागरिकता समस्या सामधान गर्ने पनि आफूहरुको प्रतिवद्धता भएको उनले सुनाए । स्वतन्त्र उम्मेदवार योगेन्द्रले पनि मतदाता भेट्दा कृषिमा व्यावसायीकरण, गुणस्तरीय स्वास्थ्य शिक्षा र नागरिकताको समस्या सामधान गर्ने प्रतिवद्धता जनाइरहेको बताए ।

मोरङ क्षेत्र नम्बर ५ मा विराटनगर महानगरको वडा नम्बर १३, १४, १५, १६, १७ र १८, रंगेली नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ तथा धनपालथान र जहदा गाउँपालिका पर्छ । विराटनगर, धनपालथान र जहदा प्रमुख कांग्रेसले जितेको छ भने रंगेली एमालेले । वडाअध्यक्षका उम्मेदवारहरुले मतका आधारमा पनि कांग्रेस नै अगाडि छ ।

उसले १९ हजार ४९८ मत पाएको छ भने एमाले १५ हजार ६८०, जसपाले १३ हजार २४९ र माओवादी केन्द्रले ११ हजार ६२८ मत पाएको छ । राप्रपाले एक हजार ८८७, जनमत पार्टीले एक हजार ७८ मत पाउँदा लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीको मत हजारभन्दा कम छ ।

बिहिबार, १७ कार्तिक, २०७९, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर