पहाडी र हिमाली जिल्लाहरूमा डेंगुको संक्रमण बढ्दै

विराटनगर । प्रदेश नम्बर १ मा डेंगु संक्रमण बढ्दै जान थालेको छ । तराईसँगै पहाडी र हिमाली जिल्लाहरूमा यसको संक्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

पछिल्लो तीन महिना साउन देखि असोज २९ गतेसम्म १ हजार ३ सय ७२ जनामा डेंगु संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतले जानकारी दिए ।

डेंगु संक्रमण तराईका जिल्लाका तुलनामा पहाडी र हिमाली जिल्लामा बढ्दै गएको छ । स्वास्थ्य निर्देशक बस्नेतका अनुसार प्रदेशमा सबैभन्दा बढी सुनसरी जिल्लामा २८० जनामा संक्रमण देखिएको छ । सबैभन्दा कम इलाममा दुई जनामा संक्रमण देखिएको छ । हालसम्म प्रदेशमा डेंगु संक्रमणका कारण कसैको मृत्यु भने भएको छैन ।

हालसम्म मोरङमा १३६, झापामा ९३ र उदयपुरमा ५७ जनामा डेंगु संक्रमण देखिएको छ । प्रदेशका पहाडी जिल्लामध्ये तेह्रथुममा सबैभन्दा बढी १६४ जनामा डेंगु देखिएको छ । त्यस्तै, संखुवासभामा १४४, धनकुटामा ११६, ओखलढुङ्गामा ५५ तथा पाँचथर ४०, भोजपुरमा १२, सोलुखुम्बुमा १८, खोटाङमा १५७ जनामा डेंगु संक्रमण पाइएको निर्देशक बस्नेतले जानकारी दिए ।

संक्रमण देखिएको मध्ये सबैभन्दा बढी युवा उमेर समूहमा डेंगु संक्रमण देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अहिले डेंगु संक्रमण १६ देखि ३५ वर्ष उमेर समूहका युवाहरूमा बढी देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका असिस्टेन्ट प्रोफेसर डा। सुरेन्द्र कुमार उराँवले बताए ।

१६ देखि ३५ उमेर समूहका युवाहरू बढी चहलपहलमा जाने भएको कारणले उनीहरूमा संक्रमण देखिएको डा. उराँवले बताए । डेंगु दुई वर्षको बालबालिकाहरूमा पनि देखा परेको उनले बताए । ६० वर्ष भन्दा माथि उमेर समूहकालाई संक्रमण कम लाग्ने गरेको उनले बताए ।

आइतबार, ३० असोज, २०७९, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर