काठमाडौँ । संकटको बेलामा कालोबजारी गर्न खोज्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् ।
चीनबाट ल्याएको ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोपमा प्रहरीले ६७ थान थर्मल गनसहित अग्रवाललाई मंगलबार पक्राउ गरेको हो ।
शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो । त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो ।
मंगलबार दिउँसो नक्सालमा ६७ वटा थर्मल गन बिक्री गर्न लाग्दा उनी पक्राउ परेका हुन् । कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूतसमेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए ।
अग्रवाललाई महानगरीय अपराध महाशाखामा रखिएको छ । अग्रवालले कालोबजारी गरिरहेको सूचनापछि प्रहरी आफैं ग्राहक बनेर उनीकोमा पुगेको थियो । कूटनीतिक नियोग तथा राजदूतावासले प्रयोग गर्ने २०९ एचसीसी–१ नम्बर प्लेटको गाडीमा आएका उनी पक्राउ परेका हुन् ।
आफू प्रतिष्ठित उद्योगपति रहेको भन्दै पक्राउ नगर्न सुलभले आग्रह गरेका थिए। नेपाल एयरलाइन्सको जहाजमार्फत शंकर ग्रुपले २० हजार थान थर्मल गन ल्याएको थियो ।