बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरसको संभावित महामारी बिरुद्ध लड्नका लागि सर्वपक्षीय संयन्त्र बनाउन सुझाव दिनुभएको छ ।
विश्वलाई नै आतंकित बनाइरहेको कोरोनाले नेपाललाई पनि धेरै प्रभावित पार्नसक्ने संकेत गर्दै उहाँले कोरोनाबाट मुलुकलाई जोगाउँन सर्वपक्षीय संयन्त्र निर्माणको खाँचो रहेको बताउनु भएको हो । सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सत्तारुढ दल, मुख्य तथा अन्य साना प्रतिपक्षी दल, निजी क्षेत्र, नागरिक समाज, जनस्वास्थ्य विज्ञहरु, संकट व्यवस्थापन विज्ञ लगायतको प्रतिनिधित्व हुने गरी उच्च स्तरीय समिति बनाउँन सुझाव दिनुभएको छ ।
संकटका बेला सरकारले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भएकाले सरकारले मुलुक भित्रका सबै शक्तिहरुलाई रिझाएर नीतिगत आधार तय गर्न राजनीतिक तहमा र कार्यकारी तहमा विज्ञ विशेषको अर्को समिति बनाउन उपयुक्त हुँने उहाँको सुभाव छ । कोरोनाको लक्षण ढिलो देखिने वा लक्षण नदेखिदै पनि संक्रमण फैलनसक्ने हुनाले खतरनाक स्थिति सिर्जना हुनसक्नेप्रति सचेत गराउँदै उहाँले दूरगामी असर पर्ने अवस्थाबाट जोगाउन सर्वपक्षीय समितिले प्रभावकारी भूमिका खेल्न सक्ने तर्क गर्नुभएको छ ।
कांग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले अहिले आरोप प्रत्यारोप गर्ने बेला नभएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर महामारी बिरुद्ध सरकारको अभियानमा सघाउन कांग्रेससहित अन्य राजनीतिक दललाई पनि आग्रह गर्नुभएको छ ।