डा. बालकृष्ण साह
मध्यरात भएकै थिएन । तर, विराटनगरको मध्य सहर चकमन्न भइसकेको थियो । म सोफामा पल्टिएको थिएँ र झ्यालबाट देखिने पर–परसम्मको दृश्य निर्निमेष हेरिरहेको थिएँ । सडक बत्तीहरू झलमल्ल थिए । बत्तीको पोलमुनि कुकुरहरू यताउता गरिरहेका देखिन्थे । त्यसबाहेक अरू कुनै चहलपहल देखिँदैनथ्यो ।मैले घडी हेरें, रातको ८ बजेको रहेछ ।कोभिड महाव्याधिको बखत । प्रशासनले लकडाउन घोषणा गरेको थियो । घरबाहिर निस्किएर हिँड्न डरमर्दो थियो । घरमा यसै बसिरहँदा पनि शरीर थाक्ने रहेछ । ज्यान आलस्य थियो । निद्रा लागेजस्तो भयो । यसो सोफामा ढल्किएरै आँखा बन्द गरें । ठीक यहीबखत मोबाइलको घण्टी बज्यो । अल्छी मान्दै फोन उठाएँ, अस्पतालको आकस्मिक कक्षबाट रहेछ ।
‘सर चक्रघटीबाट एउटा बिरामी रिफर गरेर ल्याएको छ ।’चक्रघटी सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्छ । विराटनगरबाट करिब ४० किलोमिटरको दूरीमा । राति कुनै गम्भीरता नभए त्यति टाढाबाट बिमारी पक्कै आउने थिएन । मैले अनुमान लगाएँ, ‘केही साह्रोगाह्रो भएको होला ।’
‘के भएको रहेछ’ मैले हतारमा सोधें ।‘इक्टोपिक रप्चर छ सर ।’
‘इक्टोपिक रप्चर’ सुन्नसाथ म तन्त्राबाट हठात् ब्युँझिएँ । मेरो छाती ढक्क फुल्यो । ‘इक्टोपिक रप्चर’ मेरो मुखबाट अनायस यो वाक्य दोहोरियो।
इक्टोपिक रप्चर भनेको गर्भ पाठेघरमा नबसेर अन्य (अण्डबाहिनी नली, अण्डाशय) ठाउँमा बसेको र सो फुटेको (रप्चर) अवस्था हो । यस अवस्थामा फुटेको ठाउँबाट रगत बग्ने हुन्छ । सो रोक्न तुरून्तै शल्यक्रिया गरेर फुटेको ठाउँ बाँध्नुपर्ने हुन्छ ।बिरामीको अवस्था कति जटिल होला ? म आत्तिएँ ।‘अहो ! अनि अवस्था कस्तो छ ? तुरून्त रगतको व्यवस्था गर्न लगाउनू, शल्यकक्षलाई पनि खबर गर । म आइहालें’ यति भनेर म जुरूक्क उठें ।
……………
नाम– साबित्री मगर । उमेर– ३२ वर्ष । ठेगाना– सुनसरी, बराह नगरपालिका । उनी चार सन्तानकी आमा रहिछन् । उनको पाँचौ गर्भ बसेछ । चार सन्तान हुर्काउनै महाभारत छ, अर्को बच्चा कसरी हुर्काउने ? यसबखत मगर दम्पतीले बच्चा नजन्माउने निर्णय गरेछन् । अब विकल्प रह्यो, गर्भपतनको । तर, कहाँ गर्ने ? कसरी गर्ने ? उनीहरू अनभिज्ञ थिए । घरपायक ठाउँमा स्वास्थ्य चौकी थियो । उनीहरू त्यही जाने हो कि भनेर घोत्लिए । यद्यपि सावित्रीलाई भने केही असहज महसुस भइरहेको थियो । किनभने गाउँकै स्वास्थ्य चौकीमा चिनेजानेका मान्छेहरू हुन्छन् । गर्भपतनको कुरा उनीहरूले थाहा पाउने पो हुन् कि ? श्रीमतीको मनोभाव बुझेपछि श्रीमानले उनलाई घरभन्दा अलि टाढाको अस्पताल पुर्याउने निधो गरे । त्यहाँ तालिमप्राप्त स्वास्थ्यकर्मीले उनीहरूलाई गर्भपतनबारे विस्तृतमा बताइदिए ।
सावित्रीको चार सन्तान भइसकेको थियो । उनलाई आफू कमजोर छु भन्ने थाहा थियो । त्यसैले औजारबाट गरिने गर्भपतनले कुनै खतरा पो हुन्छ कि? उनी भित्रभित्रै डराएकी थिइन् । स्वास्थ्यकर्मीकै सल्लाह अनुसार उनले औषधिबाट गर्भपतन गर्ने निधो गरिन् ।औषधिको एउटा चक्की उनलाई त्यही खान दिइयो । उनले डराउँदै डराउँदै औषधि खाइन्। एउटा औषधि घरमै गएर खानुपर्ने रहेछ । स्वास्थ्यकर्मीले औषधि खाने विधि पनि बताइदिए ।मगर दम्पती घर फर्किए । दोस्रो दिन बित्यो । औषधि खाइन् । तर, रक्तस्राव भएन । औषधि खाएपछि रक्तस्राव हुन्छ भनेर स्वास्थ्यकर्मीले भनेका थिए । रक्तस्राव नभएपछि उनीहरू आत्तिए । हत्तपत्त अस्पताल गए । त्यहाँ सावित्रीलाई भिडिओ एक्स रे गर्न भनियो । सोही अनुसार चक्रघट्टीमा नै भिडिओ एक्स रे गरियो । रिपोर्ट आयो । चिकित्सकले रिपोर्ट हेरे । उनी केही तर्सिएझैं भए ।भिडिओ एक्स रेको रिपोर्ट सामान्य थिएन । त्यसमा केही गडबडी देखियो । सावित्रीको गर्भ अण्डाशयमा बसेको रहेछ । यस्तो अवस्थामा जुनसुकै बखत पनि अण्डाशय फुट्ने जोखिम हुन्छ । चिकित्सकले भने, ‘तुरून्तै अपरेसन गर्नुपर्छ ।’ तर, त्यहाँ अपरेसनको व्यवस्था थिएन । चिकित्सकले उनलाई अर्को अस्पतालका लागि सिफारिस गरिदिए ।
मगर दम्पतीसँग तुरून्तै अस्पताल दौडने स्थिति थिएन । एकातिर पैसाको चाँजोपाँजो मिलाउनुपर्ने, अर्कोतिर घरमा बालबच्चाको पनि हेरचाह गर्नुपर्ने । अब उनीहरू ऋणपान गर्नतर्फ लागे । भन्नसाथ पैसा कसले दिने ? गरिब दुःखीलाई कसले पत्याउने ? पैसा जोरजाम गर्ने क्रममै धेरै दिन गुज्रियो । एकदिन सावित्री नराम्ररी बिरामी भइन् । आपत नै परेपछि त जसरी नि अस्पताल लानैपर्यो । छरछिमेक गुहारेर उनलाई अस्पताल पुर्याइयो । यतिबेलासम्म उनको अण्डाशय फुटिसकेको थियो । अतः पेटमा अत्यधिक रगत जमिसकेको थियो । अवस्था एकदमै जटिल र नाजुक थियो ।
…..
म हतारिँदै अस्पताल पुगें । सावित्रीको स्थिति चिन्ताजनक थियो । मैले रिपोर्ट हेरें । उनको गर्भ अण्डाशयमा रहेको, अण्डाशय फुटेको, रगत पेटमा जमेको र रगतको मात्रा निकै कम भएको देखियो । यस्तो अवस्थामा धैर्यतापूर्वक निर्णय लिनुको विकल्प हुँदैन ।अब तुरून्तै शल्यक्रिया गर्नुपर्ने स्थिति थियो । गर्भको कारण फुटेको अण्डाशय त्यहाँबाट हटाउनुपर्ने हुन्थ्यो । अनि रक्तस्राव रोक्नुपथ्र्यो । कम्तीमा यति गरेपछि उनको ज्यान बचाउन सकिन्थ्यो । साथसाथै उनको शरीरबाट रित्तिँदै गएको रगतको परिपूर्ति गरिदिनुपथ्र्यो ।रगतको बन्दोबस्ती गर्न ब्लड बैंकमा मान्छे पठाइएको थियो । रगतको जोहो नभएसम्म शल्यक्रिया गर्ने अवस्था हुँदैन । रगतका लागि पर्खनुपर्ने थियो । मलगायत चिकित्सक टोली शल्यकक्षमा प्रतीक्षारत थियौं ।
ब्लड बैंकमा उनको समूह (ए पोजेटिभ) को रगत पाइएन । मैले लामो सास तानें । घडी हेरें । रातको १०ः ३० भइसकेछ । रगत कहाँबाट ल्याउने ? बडो कठिन थियो । रगत नभई शल्यक्रिया गर्न नमिल्ने । शल्यक्रिया नगरी सावित्रीको जीवन रक्षा गर्न नसकिने । रगतको कुराले यति निरिह बन्नुपर्दा मलाई एकदमै नराम्रो लागिरहेको थियो । बिरामी बेडमा छटपटाइरहेकी थिइन् । जीवन र मरणको दोसाँधमा । हामी भने रगत पर्खिरहेका थियौं । उनका श्रीमानको वेचैन थिए । बाबा आमाको यस्तो हालत थाहा पाउँदा घरमा भएका चार अबोध सन्तानलाई कस्तो हुँदो हो?यतिबेला मसँग दुइटा विकल्प थियो। र, दुबै विकल्प निकै कठोर थियो ।
एक–‘यहाँ शल्यक्रिया गर्न सकिन्न, तुरून्तै अर्को अस्पताल पुर्याउनु ।’ दुई–‘जसरी नि रगत खोज्नु, तत्काल शल्यक्रिया गर्नुपर्छ ।’ हाम्रो निम्ति त पहिलो विकल्प सहज थियो । तर, बिचरा गरिब–निमुखाले मध्यरातमा कुन अस्पताल लाने ? अस्पताल चहार्दा चाहर्दै बिरामीलाई केही भइदियो भने ? लकडाउनको बेला छ । ए पोजेटिभ रगत पाउन सहज छैन । यस समूहको रगत भएको मान्छे भए पनि उनलाई कसरी ल्याउने? कसरी रगत निकाल्ने ?यस्तो क्षणमा म आफैं पनि रगत दिन तत्पर हुन्थें । तर, मेरो रगत समूह मिल्दैनथ्यो । मैले आफ्ना साथीहरू सम्झिएँ, नातेदार सम्झिएँ, कर्मचारी सम्झिएँ, नर्सहरू सम्झिएँ । उनीहरूमध्ये कोही न कोही त ए पोजेटिभ रगत भएका होलान् नि ? आनन्द मण्डल । अनायसै मेरो दिमागमा यो नाम आयो । उनी शल्यकक्षमा काम गर्ने कर्मचारी थिए । उनको रगत समूह ए पोजेटिभ थियो । मैले हत्तपत्त उनलाई खोजें । तर, उनी त आफ्नो काम सकेर दुई घण्टा अगाडि नै घर गइसकेका रहेछन् ।घडी हेरें । रात निकै छिप्पिसकेको थियो । यतिबेला आनन्द निदाइसकेका पो होलान् कि? वा हालसालै कतै रक्तदान गरिसकेका होलान् कि ? आखिर जे भए पनि मैले उनलाई फोन लगाएँ । फोन उठेन । फेरि कोसिस गरें । यसपटक उनले फोन उठाए । ‘हजुर सर’ अल्छी मान्दै बोले । उनी निद्राको सूरमा बोलिरहेका छन् भनेर थाहा पाउन गाह्रो भएन ।
‘तिम्रो ब्लड ग्रुप ए पोजिटिभ हो है’ मैले सोधें ।‘हो सर’ उताबाट जवाफ आयो ।
‘भाइ एउटा जरूरी काम गर्नुपर्ने भयो । तिम्रो रगत चाहियो’ मैले यहाँको स्थिति बताउँदै उनलाई हतारमै सबै कुरा भनें । दिनभरको कामले थाकेको ज्यान आनन्दपूर्वक ओछ्यानमा सुताइसकेका आनन्द मेरो बोलीले तंग्रिए । उनी उठे । ‘हुन्छ सर’ उनले फोनमा भने, ‘तर कसरी त्यहाँसम्म आउने ?’अस्पतालको गाडी थियो। मैले सोही गाडी पठाउन निर्देशन दिएपछि आनन्दलाई फोनमा भने, ‘अस्पतालको गाडी आउँदैछ । तिमी सिधै ब्लड बैंकमा जानू । हामी बिरामीको शल्यक्रिया सुरू गर्छौं ।’हामीले बिरामीलाई शल्यकक्षमा ल्यायौं । कति पनि समय खेर नफाली शल्यक्रिया सुरू गरियो । एक घण्टा लाग्यो शल्यक्रिया गर्न । यतिबेलासम्म रगतको जोहो भइसकेको थियो । सावित्रीको शरीरमा आनन्दको रगत दिइयो । कुन भूगोलमा जन्मेको मान्छे, कुन जातको, कुन धर्मको, कुन समुदायको उनीहरूबीच खास समानता थिएन । तर, समानता थियो मानवताको अनि शरीरमा प्रवाहित रगतको समूहको । कहाँको मान्छेको शरीरमा बग्ने रगतले कहाँको मान्छेको शरीरमा प्रवाह भएर प्राण रक्षा गर्छ । समाज र संस्कारले अलग गरेका जातलाई पनि रगतको जात (समूह) ले जोड्छ ।
वास्तवमा त्यो क्षण एकदमै भावुक भएको थिएँ म । जसै श्रीमतीलाई शल्यकक्षबाट बाहिर निकालियो, उनका श्रीमान् अत्यन्तै कृतज्ञ भए । उनले आँखाभरी आँसु पारेर भने, ‘डाक्टर साप, मेरो छोराछोरीलाई टुहुरो बन्नबाट बचाउनुभयो ।’ उनको अन्तरहृदयबाट आएको यी वाक्यहरूमा आशिर्वाद मिश्रण भएको थियो । भरोसा घोलिएको थियो ।खासमा यसको असली हकदार त, आनन्द मण्डल हो । मैले उनलाई सम्झें र मनमनै कृतज्ञता प्रकट गरें । यतिबेलासम्म बिरामीको स्थिति निकै सामान्य भइसकेको थियो । बिरामीको स्थितिमा क्रमशः सुधार आइरहेको थियो र अब उनमा मृत्युको जोखिम थिएन । मेरो मन ढुक्क भयो ।मैले आनन्द मण्डललाई फोन लगाउन पुगेछु ।उताबाट ‘हेलो’ भन्न नपाउँदै मेरो मुखबाट अनायसै यस्तो वाक्य फुत्किएछ, ‘आनन्द तिमीले चार जना बच्चालाई टुहुरो हुनबाट जोगायौं । सायद उनीहरू यतिबेला आफ्नी आमालाई पर्खिरहेका होलान्। तिमीलाई भगवानले सधैं आशिर्वाद दिनेछन् ।’