विराटनगर । लायन्स क्लबले स्थापना गरेको फुड बैंकबाट विराटनगरका २ वटा वडाका करिब ८ सय घरपरिवारलाई राहत वितरण गरिएको छ ।
लायन्स फुड बैंकबाट विराटनगरको वडानम्बर ३ र ५ का विपन्न वर्गका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । प्रत्येक घरपरिवारलाई प्रतिपरिवार १५ किलो चामल, २ किलो दाल, ३ किलो आलु १ किलो नुन, १ लिटर तेल र एउटा साबुन लगायतको सामाग्री प्रदान गरिएको लायन्स क्लब ३२५ ए वनका डिस्ट्रिक गर्भनर राजन खत्रीले बताउनुभयो ।
विराटनगर ३ र ५ नम्बर वडामा आइतबार राहतस्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ भने वडानम्बर ७ मा सोमबार वितरण गर्ने कार्यक्रम रहेको छ । विराटनगर महानगरपालिकाको हकमा भने करिब ११ सय घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको लायन्स फुड बैंकका संयोजक रेवतबहादुर कार्कीले बताउनुभयो ।
यसअघि फुड बैंकमार्फत विराटनगरको महिला जागृति आश्रम, मानव सेवा आश्रम र वडा नम्बर १९ का विपन्न परिवारलाई समेत राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिसकिएको छ । लायन्सले भने सम्बन्धित वडाका वडाध्यक्षको समन्वयमा विपन्न परिवारको घरघरमै पुगेर राहतको प्याकेट हस्तान्तरण गरिरहेको छ ।