बेलबारी । मोरङको बेलबारी नगरपालिकाले आइतबार १७ सयभन्दा बढी परिवारलाई राहत वितरण गरेको छ ।
नगरपालिकाले वडा नम्बर २, ३, ६, ७, १० र ११ नम्बर वडाका १७ सय ६२ परिवारलाई राहत वितरण गरेको हो ।
दैनिक ज्यालादारी गरी दैनिक जिविका चलाइरहेका विपन्न परिवारलाई पहिलो चरणमा वडा कार्यालयमार्फत राहत वितरण गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । नगरपालिकाले वडा कार्यालयमा राहत सामाग्री बुझाएको छ भने वडा कार्यालयले घर–घरमा लगेर वितरण गरेका छन् ।
भिडभाड हुन निदिनका लागि घर–घरमा राहत वितरण गरिएको मेयर सुवेदीले बताउनुभयो । नगरपालिकाले ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र एक डल्ला साबुन वितरण गरेको छ भने १५ जनाभन्दा वढिको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो नुन, र एक डल्ला साबुन दिएको छ ।
सोमवार १, ४, ५, ८ र९ नम्बर वडामा राहत वितरण गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ । कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिको शनिवार बेलबारी नगरपालिकमा बसेको बैठकले राहत वितरणको निर्णय गरेको थियो ।