विराटनगर । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि गरिएका लकडाउनले दैनिक ज्यालादारीमा काम गर्ने विपन्न परिवार समास्यामा परेपछि लायन्स क्लबहरुले राहत वितरण गरिरहेका छन् ।
आइतबार लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले विराटनगर ५ स्थित आधारभुत विद्यालय कोचाखालमा भाडामा बस्ने ६० मजदुर परिवारलाई लक्षित गरेर राहत वितरण गरेको छ ।
विराटनगर महानगरका मेयर भिम पराजुली तथा लायन्स अन्तराष्ट्रिय ३२५ ए वानका गर्भनरको उपस्थितिमा वडाअध्यक्ष मिनकुमार आचार्यलाई क्लब अध्यक्ष लायन डा. बालकृष्ण साहले राहत सामाग्री हस्तान्तरण गर्नुभयो । महानगरले तोकिएको मापदण्ड अनुसार सो राहत सामग्रीहरुमा १२ केजी चामल, २ केजी दाल, २ केजी आलु, आधा लिटर तोरीको तेल, १ केजी नुन र १ साबुन रहेको छ ।
आईतबार नै वडा नं. ४ का ईक्राही गिरि टोलका ५५ परिवारलाई पनि महानगरकै मापदण्डका सोहि राहत सामग्री उपलब्ध गराएको क्लबले जनाएको छ । वडाअध्यक्ष देवेन्द्र पोख्रेलले उपलब्ध गराउनुभएको नामावलीका आधारमा राहत सामग्री बाडेको क्लबका अध्यक्ष डा.साहले जानकारी दिनुभयो ।
यस्तै विराटनगर १ मा रहेको विपन्न तेस्रो लिङ्गीहरुको परिवारलाई गरी जम्मा १२० परिवारलाई लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलले महानगर पालिकासँग समन्य गरेर उपलब्ध गराएको जनाएको छ । फुड फर हन्गर कार्यक्रम अन्तर्गत क्लबका सर्भिस चेयरपर्सन लायन अनिल शर्मा चौधरीको संयोजनमा राहत सामग्री वितरण गरिएको क्लबका उपाध्यक्ष लायन हैदर अलीले बताउनुभयो ।