आयुर्वेदिक औषधिले ढिलो काम गर्छ– विश्वास कि भ्रम ?

‘आयुर्वेदिक औषधिले ढिलो काम गर्छ’ धेरैले यो कथन सुन्दै सुनाउँदै आएका छन् । यो विश्वासको हो वा भ्रम ? यसको मापन आधार के होला ? यस पटक यही विषयमा केन्द्रित सामग्री प्रस्तुत गरेको छु ।

आयुर्वेदिक औषधिहरू ढिलो काम गर्छन् भन्दै गर्दा सोचनीय विषय के हो भने कति समयलाई ‘ढिलो’ भनिएको हो वा कति समयमा काम गर्याे भने ‘छिटो’ गरेको मानिएला ? वैज्ञानिक दृष्टिमा यो ढिलो र छिटो भनेको तुलनात्मक विषय हुन् । यो निरपेक्ष कुरा होइन । यसलाई सामान्यीकरण गरेर जनविश्वास निर्माण गरिनु गलत छ ।

आयुर्वेदिक औषधीले ढिलो काम गर्छ भन्ने विषयको बहस एलोपेथी औषधिसँग तुलना गर्न थालेपछि हुन थालेको हो । आयुर्वेदिक औषधि र निर्माण विधिविज्ञान एलोपेथिक औषधिको भन्दा बिलकुलै फरक हुन्छ । तुलना त समान वस्तुका बीच हुनुपर्ने हो तर यहाँ त्यस्तो गरिएको देखिएन । कुनै पनि चिजबिज तुलना गर्न तुलनात्मक आधार र क्षेत्र समान हुनुपर्छ । नायक राजेश हमालको तुलना क्रिकेट खेलाडी सचिन तेन्दुलकरसँग गरेर को ठूलो भनियो भने त्यसलाई न्यायसंगत नमानिए झैं गरी यी दुई औषधिको तुलना गरिएको छ ।

आयुर्वेदमा पित्त थैलीबाट पित्तश्राव बढाउन बेसारलाई औषधिको रूपमा दिइन्छ तर एलोपथिकमा त्यही बेसारलाई प्रशोधन गरी त्यसको कक्र्युमिन भन्ने तत्वलाई छुट्याइन्छ र त्यसलाई औषधिको रूपमा दिइन्छ । आयुर्वेदमा पेनकिलरको रूपमा अफिमको निर्यासबाट औषधि बनाएर दिइन्छ । एलोपेथीमा त्यही अफिमको निर्यासलाई प्रशोधन गरी त्यसबाट कोडिन एवं मार्फिन तत्व छुट्याएर पेनकिलरको रूपमा प्रयोग गरिन्छ । त्यस्तै आयुर्वेदमा उखुको रसलाई औषधि भनेर दिइन्छ भने एलापेथीमा त्यही उखुको रसलाई प्रशोधन गरी बनाइएको चिनीलाई औषधिको रूपमा प्रयोग गरिन्छ । त्यसै गरी आयुर्वेदमा भाङको पात र पुष्पमञ्जरीलाई पाउडर वा तरल बनाएर औषधिको रूपमा प्रयोग गरिन्छ भने एलोपेथीमा भाङलाई प्रशोधन गरी त्यसबाट क्यानाबिनोल नामक तत्व छुट्याएर प्रयोग गरिन्छ ।

आयुर्वेदिक औषधिहरूले ढिलो काम गर्छ भन्ने एउटा भ्रम हाम्रो समाजमा स्थापित छ यो अज्ञानता मात्र हो । त्यो सत्य होइन । जबसम्म यी र यस्ता भ्रमहरूबाट मुक्त हुन सकिन्न तबसम्म हाम्रो समाजमा कुनै पनि चिकित्साको स्वतन्त्र एवं संवेदनशील प्रयोग हुन सक्दैन । भ्रामक विश्वासहरू पालेर औषधी सेवन गरे त्यसबाट अपेक्षित लाभ पनि प्राप्त हुँदैन ।

बेसार, अफिम, उखु र भाङमा भएको औषधीय तत्व प्राकृतिक रूपमा अवस्थित हुन्छ । ती प्राकृतिक तत्वहरूलाई औषधीय प्रभावका लागि प्रयोग गर्नु आयुर्वेदको मौलिकता हो । विशिष्टता हो । उक्त प्राकृतिक अवस्थाका औषधीय तत्वहरूले शरीरमा सहज प्रभाव देखाउन स्वाभाविक समय त लगाउँछ तर त्यसबाट नकरात्मक प्रभाव भने निक्कै कम उत्पन्न हुन्छ । जसलाई शरीरले सहजै व्यवस्थापन गर्न सक्दछ । यसरी प्राकृतिक तत्वहरूलाई औषधीय प्रभावका लागि प्रयोग गर्नु आयुर्वेदको मौलिकता हो ।

एलोपेथीमा बेसार, अफिम, उखु र भाङमा भएको औषधीय तत्वलाई प्रयोगशालामा प्रशोधन गरी छुट्याइन्छ जुन अप्राकृतिक अवस्थामा पुग्दछ । ती अप्राकृतिक तत्वहरूलाई औषधीय प्रभावका लागि प्रयोग गर्नु एलोपेथिक चिकित्साको पहिचान हो । विकास हो । उक्त अप्राकृतिक अवस्थाको औषधीय तत्वहरूले शरीरमा औषधीय प्रभाव त शीघ्र देखाउँछ तर त्यससँगै नकारात्मक प्रभाव पनि त्यत्ति नै बढी गरिरहेको हुन्छ । जसलाई शरीरले सहजै व्यवस्थापन गर्न सक्दैन । यसरी अप्राकृतिक तत्वहरूलाई औषधीय प्रभावका लागि प्रयोग गर्नु एलोपैथीक चिकित्सामा चमत्कार मानिन्छ ।

आयुर्वेद र एलोपेथिक औषधिको स्रोत एउटै हुँदा पनि आयुर्वेदले औषधीय तत्वलाई प्राकृतिक रूपमा र एलोपेथीले औषधीय तत्वलाई अप्राकृतिक स्वरूपमा प्रयोग गर्दछ । प्राकृतिक स्वरूपमा सहज र स्वाभाविक औषधीय चिकित्सा चाहनेले आयुर्वेदीय औषधि रोज्छ भने छिट्टै चिकित्सकीय प्रभाव खोज्ने व्यक्ति र अवस्थामा अप्राकृतिक स्वरूपको एलोपेथी औषधीय ततवहरूको प्रयोग रोजिन्छ । छिट्टै प्रभाव दिने एलोपेथिक अप्राकृतिक औषधीय तत्वहरूको ‘साइड इफेक्ट’ पनि धारिलो चक्कुले काटे जस्तै हुन्छ । जसलाई शरीरले सहजै व्यवस्थापन गर्न सक्दैन । दीर्घकालसम्म त्यस्ता औषधिको प्रयोगले जटिल स्वास्थ्य समस्याहरू ल्याउँछ ।

आयुर्वेद र एलोपेथी दुवै खालका औषधिहरूको आ–आफ्नै विशेषता रहेका छन् । एउटा ठीक र अर्काे बेठिक भन्ने होइन । औषधीमा प्रयुक्त औषधीय तत्वको अवस्था (प्राकृतिक वा अप्राकृतिक) अनुसार त्यसले प्रभाव दिनका लागि पनि त्यही अनुसार समय लगाउने हो । औषधीले प्रभाव देखाउन लगाउने समयको घटबढमा कुनै चिकित्सा पद्धति वा चिकित्सक को कुनै भूमिका हुँदैन । आयुर्वेदीय औषधीका तुलना एलोपेथिक औषधिसँग गर्नु न्यायसङ्गत छैन ।

आयुर्वेदिक औषधिलाई फलामको टुक्रा मान्ने हो भने एलोपेथिक औषधि त्यही फलामको टुक्राबाट बनेको छुरा मान्नुपर्छ । भुत्ते फलामको टुक्राको निर्माण कार्यक्षमता जति कम हुन्छ त्यसको विनाशक क्षमता त्यत्तिकै कम हुन्छ । फलामको टुक्राबाट बनेको छुराको निर्माण कार्यक्षमता जति बढी हुन्छ त्यसको विनाशक क्षमता त्यत्तिकै धेरै हुन्छ ।

स्पष्ट छ कि आयुर्वेदिक औषधीहरूमा औषधीय वनस्पतिहरूको प्रयोग समग्रतामा गरिन्छ । औषधीय गुणयुक्त अंश मात्र झिकेर नभई धेरैजसो समय त्यसको साथमा नभए पनि हुने कतिपय चिजहरूसँगै प्रयोग गरिएको हुन्छ तर एलोपेथीमा त्यस्तो हुँदैन । औषधीय वनस्पतिको औषधियुक्त अंशलाई मात्र छुट्याएर प्रशोधन गरी एलोपेथिक औषधिहरूमा राखिएको हुन्छ ।

कुनै पनि व्यक्तिको शरीरमा कुनै औषधिले कति छिटो र ढिलो प्रभाव देखाउँछ भन्ने विषयका लागि धेरै पक्ष जिम्मेवार हुन्छन् । ती मध्ये यी दुई कुरा बढी जिम्मेवार हुन्छन्– पहिलो व्यक्तिको पाचन शक्ति (जठराग्नि) र अर्काे खाइएको औषधीमा भएको औषधीय तत्वको घनत्व (फर्म र कन्सन्ट्रेसन) हुन्छ ।

एलोपेथी चिकित्सा पद्धति भित्रै हेर्ने हो भने, दुखाइ घटाउनलाई धेरै थरी औषधिहरू पाइन्छन् जसमध्ये कुनैले तत्कालै प्रभाव दिन्छ त केहीले प्रभाव देखाउन समय लिन्छ । कुनै व्यक्तिमा एकथरी पेनकिलर औषधिले तुरुन्तै प्रभाव देखाउँछ त अर्काे व्यक्तिमा त्यही पेनकिलरले काम गर्न समय लगाउँछ । यस अवस्थामा व्यक्तिको पाचनशक्ति जिम्मेवार हुन्छ ।

एलोपेथी पद्धतिमा अधिक प्रयोग हुने ज्वरहरण औषधि सिटामोलको एउटा ५०० मिलिग्रामको ट्याब्लेट शरीरमा पाचन भई प्रभाव देखाउन कम्तिमा ३० मिनेट समय लाग्छ । आयुर्वेद पद्धतिको एक सामान्य औषधिको नाम हो– इनो । ५ ग्राम इनो खाएको ६ मिनेटमा पेटमा बढेको एसिडिटी शान्त हुन्छ । यस्तो अवस्थाहरू पनि छ । अब यहाँनेर सिटामोल भन्दा इनो बढी प्रभावकारी भन्नु वा मान्नु अज्ञानता बाहेक केही होइन ।
पूरक तथा वैकल्पिक चिकित्साको रूपमा विश्वका धेरै देशहरूमा परम्परागत चिकित्सा पद्धतिहरू अभ्यासमा छन् । ती सबैखाले चिकित्सा पद्धतिको पृथक विज्ञान एवं दर्शन हुन्छ । हिजोआज विश्वको धेरै स्थानमा आयुर्वेद फैलिरहेको छ । आयुर्वेद विश्वव्यापी रूपमा लोकप्रिय बन्दैछ । आयुर्वेदका विषयहरूमा भइरहेको व्यापक अनुसन्धानहरूले गर्दा यस चिकित्साको अभ्यास एवं स्वीकार्यता बढ्दो छ । धेरै देशहरूमा आयुर्वेदलाई हर्बलिजम् भनेर पनि अभ्यास गरेको पाइन्छ । आयुर्वेद र हर्बलिजम् बीच धेरै कुरामा समानता हुन्छ तर पनि आधारभूत रूपमा यी दुवै फरक विषयहरू हुन् ।

आयुर्वेदिक औषधिहरूले ढिलो काम गर्छ भन्ने एउटा भ्रम हाम्रो समाजमा स्थापित छ यो अज्ञानता मात्र हो । त्यो सत्य होइन । जबसम्म यी र यस्ता भ्रमहरूबाट मुक्त हुन सकिन्न तबसम्म हाम्रो समाजमा कुनै पनि चिकित्साको स्वतन्त्र एवं संवेदनशील प्रयोग हुन सक्दैन । भ्रामक विश्वासहरू पालेर औषधी सेवन गरे त्यसबाट अपेक्षित लाभ पनि प्राप्त हुँदैन ।
श्रोतः आइएनएस स्वतन्त्र समाचार

सोमबार, ०९ साउन, २०७९, बिहानको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर