विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।
कोरोनाको महामारीसँग जुधिरहेको सरकारलाई साथ दिनका लागि सहकारीले सामाजिक उतरदायित्व अन्तर्गत ५० लाख रुपैयाँको सहकार्य साथै राहत प्याकेज घोषणा गरेको सहकारीले जनाएको छ ।
प्रदेश १ मा लघुबित्त र बैकिंङ मोडलमा बचत तथा ऋणको कारोबार गरिरहेको सहकारीले यसअघि कोरोना राहात कोषमा २० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । संस्था शुक्रबार २५ औं वर्ष पुगेको अवसरमा थप ३० लाख रुपैयाँ राहात कोषमा जम्मा गर्ने निर्णय गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताउनुभयो ।
विपतको समयमा प्रदेश सरकार, स्थानीय तह, विपत व्यस्थापन समन्वय समितिहरुको सहकार्यमा आइसोलेशन, क्वारेन्टाइनमा बसेका र बिपन्न परिवारका लागि खाद्यान्नका लागि सहयोग होस भनेर सहकारीले आर्थिक सहयोग गरेको जनाएको छ । सुरक्षाकर्मी र स्वास्थयकर्मीका लागि आवश्यक पर्ने पीपीइ खरिदमा सहयोग होस् भनेर यसअघि नै सहाराले कर्मचारी मानवीय सहायता कोषमा रहेको २० लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
संस्थाले शुक्रबार विराटनगरमा उद्घाटन भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि ४ लाख रुपैयाँ बराबरको खाद्यान्नसमेत उपलब्ध गराएको छ । केन्द्रमा उपचारका लागि बस्ने स्वास्थयकर्मी, कर्मचारी, सुरक्षाकर्मी उपचार गराउन आउन सक्ने बिरामीका लागि खाद्यान्न उपलब्ध गराएको हो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाका इलाका प्रमुख ओम साहाले अस्पताल उद्घाटनका क्रममा प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई खाद्यसामाग्री हस्तान्तरण गर्नुभयो । यस्तै शुक्रबार नै मोरङको टाँडी स्थित क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई एक महिनाका लागि खाद्यान्न उपलब्ध गराउन १ लाख ५१ हजार रुपैयाँको चेक साहारा नेपालले हस्तान्तरण गरेको छ ।
सहकारीले बाँकी रकम प्रदेश सरकारसँगको समन्वयमा हस्तान्तरण गर्दै जाने जनाएको छ ।
सदस्यलाई सापटी र हर्जना छुट
सहकारीले लकडाउनमा परेका आप्mना सदस्यहरुलाई बिनाव्याज सापटी कार्यक्रम ल्याएको छ । लघुबित्त समुहमा रहेका गरिब तथा विपन्न परिवारलाई लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको भन्दै संस्थाले बिनाव्याज ५ हजार रुपैयाँसम्म सापटी दिने कार्यक्रम ल्याएको हो ।
सो कार्यक्रमबाट २ महिनासम्म सदस्यहरुले बिनाव्याज रकम चलाउन पाउनेछन् । यसैगरि कोरोना भाइरस संक्रमण नफैलियोस भनेर लकडाउन गरेपछि सदस्यको आय आर्जन नभएको भन्दै चैत महिनाको किस्ता र व्याज बैशाख भरिमा बुझाउन पाइने जनाएको छ ।