विराटनगर । सुनसरीको धरानका ९ जना व्यक्ति भारतबाट आएर एक सातादेखि विराटनगरमा बसिरहेको फेला पारेपछि प्रहरीले क्वारेन्टाइनमा पठाएको छ ।
दिल्लीमा भएको मुश्लिमहरुको धार्मिक सभामा सहभागी भएर आएको भनिएका उनीहरु सो सभामा भने सहभागी नभएको मोरङ प्रहरीले जनाएको छ ।
भारतबाट एक साता अगाडि फर्किएका उनीहरु लकडाउनका कारण विराटनगरमा आफन्तकोमा बसिरहेको जानकारी धरान प्रहरीले दिएको थियो । त्यसपछि मोरङ प्रहरीले गएर बुझ्दा उनीहरु धार्मिक सभामा सहभागी भएको नदेखिएपनि भारतबाट आएको पाइएपछि मोरङको मिक्लाजुङ टाँडीस्थित क्वारेन्टाइनमा पठाएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।
धरान ९ स्थित आचार्यलाइनका एक व्यक्तिसहित ९ जना दिल्लीको धार्मिक सभामा सहभागी भएर विराटनगरमा आई बसेको जानकारी धरान प्रहरीले यसअघि दिएको थियो । तर, उनीहरु दिल्लीको सभामा सहभागी नभएको र कोरोनाको कुनैपनि लक्षण नदेखिएको भएपनि क्वारेन्टाइनमा पठाइएको हो ।
मोरङ प्रहरीले दिल्लीकाृ धार्मिक सभामा सहभागी भएर आएका विराटनगरका एक व्यक्तिको पनि पहिचान गरिसकेको छ । विराटनगर रानी घर भएका ती व्यक्ति मार्च १० का दिन विराटनगर आइपुगेको र घरमै क्वारेन्टाइनमा बसेको प्रहरीले जनाएको छ ।