विराटनगर । भारतमा शुक्रबारसम्म दिउँसोसम्म २ हजार ५६५ जनामा कोरोना संक्रमण भएको छ भने ७३ जनाले ज्यान गुमाएका छन् ।
भारतमा गएको २४ घण्टामा करिब ५ सय सङ्क्रमित थपिएको पाइएको छ । संक्रमितमध्ये १९२ जना निको भएर घर फर्किएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार विहान दिएको डाटा अनुसार सबैभन्दा धेरै महाराष्ट्रबाट ३३५ व्यक्ति सङ्क्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ । त्यसैगरी तामिलनाडुका ३०९ व्यक्ति सङ्क्रमित रहेका भने ६ जनाको मृत्यु भएको छ ।
भारतको केरला राज्यको २८६ व्यक्ति सङ्क्रमति रहेका छन् भने २ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीमा २१९ जना सङ्क्रमित भएका छन् भने चारको मृत्यु भएको छ ।
आन्ध्र प्रदेशमा १२३, कर्नाटकमा १२४, राजस्थानमा १३३, तेलाङ्गानामा १०७, चन्डीगढमा १८, जम्मु र काश्मिरमा ७०, लदाखमा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको जनाइएको छ । त्यसैगरी भारतको उत्तरपूर्वी राज्य मिजोरम र आसाममा एक, एक जना र मणिपुरमा दुई जनाको कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
सिक्किमसहित भारतका ६ वटा प्रान्तमा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।
एजेन्सीको सहयोगमा