स्काई ट्रकले ल्यायो स्वास्थ्य सामाग्री

विराटनगर । केमिकल चुहावटको कारण बिचबाटै फर्किएको स्वास्थ्य सामाग्री बोकेको नेपाली सेनाको स्काई ट्रक सोमबार अपरान्ह विराटनगर आइपुगेको छ ।

सोमबार विहानै काठमाडौंबाट विराटनगरको लागि उठेको स्काई ट्रकमा केमिकलको गन्ध फैलिएपछि पाइलटले काठमाडौं नै फिर्ता गरेका थिए ।

कोरोना भाइरस सक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने उपकरण बोकेर स्काई ट्रक दोस्रो पटकमा विराटनगर विमानस्थलमा अवतरण भएको हो । स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण १ हजार थान पीपीईबाहेक अन्य सामान काठमाडौंमै झारेर स्काई ट्रक आएको हो ।

स्काई ट्रकले पीपीई मात्र ल्याएपछि एन–९५ मास्क १ हजार थान , १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन, १० थान थर्मल गन र सेनेटाइजर गाडीबट आउँदै गरेको प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । गाडीबाट आउने उपकरण मंगलबार आइपुग्नेछ ।

दिउँसो १ बजे विराटनगर विमानस्थलमा पुगेर काठमाण्डौबाट आएको सामान मन्त्री घिमिरे र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले बुझ्नु भएको थियो । प्राप्त भएका सामान सोमबार नै यहाँका अस्पताल र प्रदेशका १४ वटै जिल्लामा पठाइने मन्त्री घिमिरेले जानकारी दिनुभएको छ ।

सरकारले पठाएको थप सामाग्री प्राविधिक कारणले हेलिकप्टरबाट आउन सम्भव नभएपछि गाडीबाट आईरहेको छ । संघीय सरकारले पठाएको १ हजार थान पिपिई आवश्यकताको हिसाबले कम भएपनि यसले कोरोना उपचारमा खटेका स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान हुने छ ।

प्रदेश १ मा हाल कोशी अस्पताल र बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोनासँग लड्न पूर्ण तयार रहेकोले यो दुईवटामा बढी मात्रामा पिपिई दिइनेछ । यस्तै विराटनगर स्थित नेशनल ट्रेडिङमा निर्माणाधीन रहेको अस्पताल पनि दुई दिनभित्र संचालनमा आउनेछ ।

कोशी र बीपीमा १५० थानको हिसाबले पिपिई दिईने र दुई दिनपछि सुरु हुने भएको कोरोना अस्पताललाई २ सय थान दिने मन्त्रालयको योजना छ । यस्तै
मेचीमा ४६ पिस, मोरङमा ३४, सुनसरीमा २४, धनकुटामा १४, तेह्रथुममा १२, संखुवासभामा २०, भोजपुरमा १८, सोलुखुम्बुमा १६, उदयपुरमा १६, खोटाङमा २०, झापामा ३०, पाचँथरमा १६ , ताप्लेजुङमा १८ , ईलाममा २० र ओखलढुङ्गामा १६ पिस पीपीई पठाउने प्रदेश सरकारले जनाएको छ ।

कोरोना उपचारमा खटेका स्वास्थ्कर्मीको उपचारमा सरकारले कुनै कमी हुन नदिने र आवश्यक थप सामान पनि मगाउने मन्त्री घिमिरेले बताउनुभएको छ । सुरक्षा उपकरणबिना कोरोनाको उपचारमा संलग्न हुन स्वास्थ्यकर्मीलाई बाध्य नबनाईने स्पष्ट पार्दै उहाँले संघीय सरकारले दिएको विमा र अतिरिक्त भत्तासँगै प्रदेश सरकारले पनि थप प्याकेज घोषणा गर्ने उहाँले जवानकारी दिनुभयो ।

सोमबार, १७ चैत, २०७६, दिउँसोको ०३:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर