विराटनगर । प्रदेश १ सरकारले संखुवासभाको मादी ६ मा भएको सवारी दुर्घटनामा परेकालाई आर्थिक सहयोग गर्ने जनाएको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार प्रदेश सरकारले संखुवासभाको मादी ६ मा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएका प्रत्येक परिवारलाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
ओखलढुंगामा रहेका मन्त्री कार्कीले सवारी दुर्घटनाले प्रदेश सरकारलाई समेत स्तब्ध बनाएको बताउँदै मृतक १५ जनाको परिवारमा आर्थिक सहयोग गर्ने बताएका हुन् । त्यसैगरी, सो दुर्घटनामा घाइते भएका सबै यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै ब्यहोर्ने मन्त्री कार्कीले जानकारी दिए ।
मादीबाट झापाको दमक आउँदै गरेको बा.४ ख ७३५ नम्बरको यात्रुवहाक बस मादी सातघुम्ती मोडमा दुर्घटना भएको थियो । जुन दुर्घटनामा परेरर १५ जना यात्रुको मृत्यु भएको छ । घाइते ४ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।