प्रदेशका मन्त्रालयको संरचना बनाउने ठाउँ खोज्दै प्रदेश सरकार

विराटनगर । स्थायी संरचना बनाउने स्थान टुंगो गर्न प्रदेश सरकारद्वारा गठित कार्यदलले परामर्श थालेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा गठन भएको कार्यदलले स्थायी संरचना निर्माण गर्ने स्थान र आवश्यक जग्गा प्राप्तिको विषयमा छलफल शुरु गरेको हो ।

शनिबार मन्त्री कार्की नेतृत्वको टोलीले स्थानीय तहका प्रमुखहरुसँग छलफल गरी सुझाव लिएको छ । ‘प्रदेश सरकारले कानुन बनाएर तोकेको वृहद विराट क्षेत्रभित्रकै पालिकाहरुमध्ये जग्गा प्राप्त हुने सम्भावनाको विषयमासमेत सुझाव लिने कम भएको छ ,’ मन्त्री कार्कीले भने, ‘हामी सबै पक्षसँग छलफल गरेर एउटा निष्कर्शमा पुग्छौं ।’

प्रदेश सरकारका मन्त्रालय तथा अन्य संरचना संघीय सरकार मातहतका कार्यालय रहेका भवनहरुमा छन् । कतिपय भाडाका घरमा छन् । मन्त्री तथा सांसदहरुको आवाससहितको संरचना तयार गर्ने सरकारको योजना रहेको बताइन्छ ।

सरकारले संरचना निर्माण गर्न बनाएको कार्यदलमा विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, सुन्दरहरैंचा नगरपालिका, दुहबी नगरपालिका, इटहरी नगरपालिका र ग्रामथान गाउँपालिका सदस्यलाई पनि समेटिएको छ । सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव रहेका छन् ।

आइतबार, २२ फागुन, २०७८, बिहानको ०९:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर