विराटनगर । नेकपा विराटनगर महानगर वडा नं. ८ कमिटीले अति विपन्न वर्गका ८० वटा घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।
कमिटीले आज आईतबार विराटनगर ८ स्थित सुकुम्बासी टोलमा बसोबास गर्दै आएका सुकुम्बासी घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । दैनिक ज्यालादारीमा काम गरेर घरपरिवार चलाउँदै आएका उनीहरुलाई ५ केजी चामल, १ केजी दाल, १ केजी नुन र एउटा हात धुने साबुन लगायतका खाद्यान्न सामाग्रीहरु वितरण गरिएको नेकपा विराटनगर महानगर कमिटी वडा नं. ८ का अध्यक्ष राम पोखरेलले बताउनुभयो ।
लकडाउनका कारणले अति विपन्न वर्गका घरपरिवारमा फैलिँदै गएको भोकमरीको सङक्रमणलाई निरुत्साहित पार्न खाद्यान्न वितरणको अवधारणा अघि सारिएको नेकपा महानगर कमिटी सचिवालय सदस्य तथा वडा नं. ८ का ईन्चार्ज ज्ञानु भट्टराईले जानकारी दिनुभयो । कमिटीले आज विराटनगर–८ स्थित बलुवाही चौक र विश्वकर्मा चौक लगायतका क्षेत्रमा पनि दैनिक मजदुरी गरेर घरपरिवार चलाउने १ सय २० घरपरिवारलाई खाद्यान्न वितरण गर्ने योजना रहेको जनाएको छ ।
खाद्यान्न वितरणमा भने अनेरास्ववियु केन्द्रिय सदस्य ताजिम अन्सारी, निलम ढुङगेल, राजन भण्डारी र वडा सह–ईन्चार्ज सरस्वती ओझा लगायतले सहजीकरण गर्नुभएको थियो ।