विराटनगर । जातीय गालीगलौज गर्दै प्रहरी कार्यालय अगाडि नै अमानविय कुटपिट गरेको विरोधमा कानुनी न्यायका लागि संघर्ष गरिरहका दलित आमा छोरीले उल्टै अभद्र व्यवहारको मुद्दा भोग्नु परेको छ ।
२३ कार्तिकमा सुनसरीको दुहबीस्थित इलाका प्रहरी अगाडि मरणसन्न कुटपिटमा परेपछि न्यायका लागि संघर्ष गरिरहेका नगरपालिका ५ की ७० वर्षीया एक महिला लक्ष्मी परियार र उनकी छोरी ४० वर्षीया आरती परियारले उल्टै तीन महिनापछि झुठो आरोपमा अभद्र व्यवहार मुद्दा भोग्नु परेको हो ।
हाल प्रहरीले उनीहरूलाई उल्टै २३ कार्तिकमा वृद्ध व्यक्तिलाई कुटपिट गरेको आरोपमा फरार रहेका आरोपिहरू भन्दै तीन महिनापछि १६ माघमा पक्राउ गरेर अभद्र व्यवहार कसुरमा ४ दिन म्याद थप गराएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीका निमित्त प्रमुख सई विक्रम दाहालले दुहबी ५ का ६५ वर्षीय टिकाराम कार्कीले आफूलाई कुटपिट र अभद्र व्यवहार गरेको भन्दै सरकारी वकिलको कार्यालय सुनसरीमा दिएको किटानी जाहेरी अनुसार फरार रहेका आमाछोरीलाई १६ माघमा पक्राउ गरेर चार दिन म्याद थप गराएको बताए ।
यता सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला सहन्यायधिवक्ता गणेश सापकोटोले दुहबी प्रहरीले घटना भएकै समयमा दर्ता भएको उजुरीका फरार आरोपीहरूलाई पक्राउ गरेर अदालतमा म्याद थप गराएको जानकारी दिए ।
पुरानो बेइज्तीको बदला लिन पूर्व प्रहरीबाट झुठो मुद्दा दर्ता
पीडित आमाछोरी र प्रत्यक्षदर्शीका अनुसार तीन महिनाअघि जाहेरवाला टिकारामले उल्टै मादक पदार्थ सेवन गरेर दलित वृद्धा लक्ष्मीकी छोरी आरती माथि यौन शोषण गर्न खोज्दा उनीहरुले आफ्नो इज्जतको ख्याल गर्नुभन्दै सम्झाएर पठाएका थिए । तर, कार्कीले उल्टै आफूमाथि अभद्र व्यवहार गरेको भन्दै आमाछोरीविरुद्ध दुहबी प्रहरीमा अभद्र व्यवहारको जाहेरी दिएका थिए । तत्काल प्रहरीले आमाछोरीसहित दुवै पक्षलाई बोलाएर सम्झाएर पठाएको थियो ।
तर, प्रहरीले तत्काल आमा छोरीलाई पक्राउ गरेर हिरासतमा नराखेको र उल्टै दोषी हुुनुपरेको झोँकमा टिकारामका छोराहरू दुहबी नगरपालिका ४ का ३९ वर्षीय रोशन कार्की उनका भाई ३५ वर्षीय रवि कार्की र ज्वाई ३२ वर्षीय सन्तोष कर्णलगायतले २३ कार्तिकमा इप्रका दुहबीकै अगाडि जातिय गालीगलौज गर्दै लछापछार पारेर अमानवीय कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका वृद्धा लक्ष्मी र उनकी छोरी आफ्नै खर्चले उपचार गरेर हप्तौंपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । उपचारमा उनीहरूको एक लाख रुपैयाँ भन्दा बढी खर्च भएको थियो ।
फरार थिएनन् घरमै बसेर न्यायका लागि सङ्घर्ष गरिरहेका थिए
तत्काल खुलेआम दलित एकल वृद्ध महिला र उनकी छोरीलाई कुटपिट गर्दा प्रहरीले कसैलाई पनि पक्राउ गरेन र जाहेरी पनि लिन मानेन । यसैले उनीहरुले अमानवीय उत्पीडन गर्नेलाई कानूनी कारबाहीको माग गर्दै जातीय विभेद छुवाछुत कसुर र ज्यान मार्ने उद्योगमा सरकारी वकिल कार्यालय सुनसरीमा ८ मंसिरमा जाहेरी दर्ता गराएका थिए । सरकारी वकिलको निर्देशन अनुसार ९ मसिरमा इप्रका दुहबीले बल्ल उत्पीडन गर्ने तीन जना आरोपीविरुद्ध मुद्दा दर्ता गराएको थियो । तर, मुद्दा दर्ता गरेपनि प्रहरीले आरोपीलाई पक्राउ गरेन । यसैले अभियुक्तलाई पक्राउ गर्न माग गर्दै दलित अधिकारकर्मी र संस्थाको सहयोगमा आमाछोरीले न्यायिक संघर्ष थालेका थिए । प्रहरीकै अगाडि गैरदलित पुरुषबाट निर्घात मरणासन्न कुटिएका उनीहरू आफैं पीडित भएकोले फरार भएकै थिएनन् । बरू उनीहरू उपचारपछि घरमै बसेर न्यायका लागि सङ्घर्ष गरिरहेका थिए ।
झुठो मुद्दा लगाउनेलाई कानूनी कारबाही गर्न माग
आमाछोरीलाई न्यायका लागि सहयोग गर्दै आएका अधिकारकर्मी प्रेमप्रकास दियालीले अमानवीय उत्पीडनमा परेका दलित आमाछोरीलाई तीन महिनापछि झुठो मुद्दा दर्ता गराएर थप ज्यादती गर्नेविरुद्ध प्रहरी प्रशासनले अनुसन्धान गरेर फौजदारी संहिता अनुसार कारबाही गर्नुपर्ने बताए । दियालीले भने, ‘यो त पञ्चायतभन्दा पनि निरंकुश व्यवस्थाको चरित्र प्रदर्शन भयो, न्यायका लागि सङ्घर्ष गर्दा उल्टै हिरासतमा कोचिनुपर्ने कहाँसम्मको न्याय हो यो ?’
यसैगरी अमानवीय उत्पीडनमा परेका दलित गरिब आमाछोरीलाई न्याय दिलाउन सहयोग गर्नुको साटो उल्टै झुठो मुद्दा लगाएर थप अन्याय गरेको भन्दै प्रदेश १ भरिका दलित अधिकारकर्मीले विरोध गरेका छन् । विभिन्न एक सयभन्दा बढी दलित संघसंस्थाले न्यायका लागि संघर्ष गर्दा उल्टै प्रहरीलाई प्रलोभनमा पारी पहुँच प्रयोग गरेर झुठो मुद्दा लगाउनेहरु सबैलाई छानविन गरेर कानुन अनुसार कारबाही हुनुपर्ने माग गरेका छन् । कानुनी कारबाही नभए न्यायका लागि सशक्त संघर्ष थाल्न बाध्य हुने दलितहरूले चेतावनी दिएका छन् । क्रेज नेपालका अध्यक्ष गोपाल नेपालीले भने, ‘यो त जंगे युगको भन्दा पनि बर्वर अन्याय भयो विधिको शासनमा यस्तो हुनु अन्यायको पराकाष्ठा हो यसैले झुठो मुद्दा लगाउनेलाई कारबाही हुनैपर्छ, नत्र हामी सशक्त सङ्घर्ष गर्न बाध्य हुनेछौं ।’