काठमाडौ । कोरोना भाइसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन भइरहेको छ । कुनै व्यक्तिले लकडाउन उल्लंघन गर्दा सिंगो परिवार, समाज र इलाका नै जोखिममा परिहेको छ ।
भाइरसको संक्रमणबाट बच्ने एक उपाय सामाजिक दुरी कायम गर्नु भएको बताइएको छ । त्यसैले लकडाउनको समयमा सबै नागरिकलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको छ।
लकडाउन घोषणा भएको चौथो दिन पहिलेभन्दा उल्लंघनमा कमी आएको छ । तर, कतिपय मासिन लकडाउन अटेर गर्दै सडकमा निस्किरहेका छन्। प्रहरीले कडाई गरेपनि अटेर गर्नेहरुले हैरान बनाएका छन् । सडकमा निस्कनेहरुको भाइरसको संक्रमित भएको अवस्थामा उनीहरुको नजिक जान र पक्राउ गर्न पनि प्रहरीलाई जोखिम छ ।
लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा पनि शारिरिक दुरी कायम गर्नुपर्ने चुनौतिमा रहेको प्रहरीले नयाँ उपकरण प्रयोगमा ल्याएको छ । शारिरिक दुरी कायम गर्ने गरि प्रहरीले रेस्क्यू तथा एरेस्टेड उपकरणबाट लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन थालेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अहिले दुईवटा यस्तो उपकरण उपलव्ध गराएको छ।
परिसरले अहिले दुईवटा टोली बनाएर लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने गरेको छ। अहिलेसम्म यो उपकरणको प्रयोग गरेर ५० जनालाई नियन्त्रणमा लिएको डिएसपी हबिन्द्र बोगटीले जानकारी दिनुभयो।
यस उपकरणको सहयोगमा प्रहरीले कुनै पनि मानिसलाई नियन्त्रणमा लिन उसको नजिक पुग्नु नै पर्दैन। करिब एक मिटरको दुरीमा रहेर यसको सहायताले मानिसलाई नियन्त्रणमा लिन सकिन्छ।