कोरोना संक्रमितको उपचार गर्न सरकारलाई हस्पिटल उपलब्ध गराउने घोषणा

१५ सय बेड भएका बिएण्डसी र नोबेल अघि सरे

कोरोना संक्रमितको उपचार गर्न सरकारलाई हस्पिटल उपलब्ध गराउने घोषणा
विराटनगर । निजी अस्पतालहरुले कोरोनाको आशंका गरिएका विरामीको चेकजाँच गर्न नमानेको खबर आइरहेको बेला प्रदेश १ का दुई ठूला अस्पताल सञ्चालकले आफ्नो अस्पताललाई कोरोना संक्रमितको उपचार केन्द्र बनाउने घोषणा गरेका छन् ।

झापाको विर्तामोड स्थित बिएण्डसी र विराटनगरको नोबेल अस्पतालले कोरोना संक्रमितको उपचारका लागि आफ्नो अस्पताल, संपूर्ण संरचना र जनशक्ति सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन् ।

बिएण्डसी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले शुक्रवार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रले कोरोनाको उपचारको लागि आवश्यक सामान प्राप्न गर्न नसकेको भन्दै अस्पताल नै सरकारलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभएको हो । कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक ड्रेस पीपीई र किट्स नभएको बताउँदै उहाँले आफ्नो जनशक्ति पनि सरकारले प्रयोग गर्नसक्ने बताउनुभयो ।

बिएण्डसीको ८ सय नर्मल बेड, १ सय आइसियू कक्ष र २५ वटा भेन्टिलेटरसहितको आइसियू रहेको छ । हस्पिटलमा १०५ जना डाक्टर छन् । यो विषम परिस्थितिमा कोरानाको उपचार र परीक्षणका लागि हस्पिटल उपयोग गर्न चाहान्छ भने दिन तयार रहेको र आजकै दिनबाट यसलाई प्रयोग गर्न सकिने प्रसाईले बताउनुभयो ।

प्रसाईँले हस्पिटलको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० बेडको क्वारेन्टाइन बनाउन सकिने बताउनुभएको छ ।

यसअघि नै विराटनगर स्थित नोबेल शिक्षण अस्पताललाई कोरोना भाइरस संक्रमित बिरामीको उपचार केन्द्र बनाउन सरकारलाई दिने घोषणा सञ्चालक डा.सुनिल शर्माले गर्नुभएको छ । नोबेलले अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिने जनाएको छ । नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैय्या छन् ।

डा.शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा।भगवान कोइरालालाई पत्रसमेत पठाएको बताउनुभएको छ । नोबेलमा शैय्या थप गरी १ हजार शैय्यासम्म सञ्चालन गर्न सकिने बताइएको छ ।

शुक्रबार, १४ चैत, २०७६, दिउँसोको १२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर