विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरि सरकारले प्रबन्ध मिलाएको जनाएको छ ।
सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुनेगरि प्रबन्ध गर्नका लागि आज मन्त्रालयमा अक्सिजन आपूर्तिकर्तासँग छलफल गरेका छन् । आपूर्तिकर्ता उद्योगका प्रतिनिधिहरुले मन्त्री यादव समक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री यादवले मारुती अक्सिजन इण्डस्ट्रिज, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । उनले कोभिड अस्पतालमा अक्सिजनको आपूर्तिका लागि पहिले गरेको कार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोही अनुसारको सेवा दिन आग्रह गरे ।
मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी थिए । आपूर्तिकर्ताहरुले अक्सिजनका खाली शिलिण्डरहरु समयमै उपलब्ध गराईदिनु पर्ने बताएका छन् । प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ वेड विस्तार गरेको छ । यसअघि ९६ बेडको अस्पताल सञ्चालनमा थियो ।