विराटनगर । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मानिसको जीवन निष्क्रिय नबनाई कोभिडविरुद्ध लड्ने स्पष्ट पारेका छन् ।
उनले अहिलेको अवस्थामा सकेसम्म भीडभाड नगर्न अपिल गर्दै भीडभाड हुने स्थानलाई व्यवस्थित गर्ने योजनाका साथ सरकार प्रस्तुत हुने बताए । उनले कोभिडविरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार रहेको प्रष्ट पारे । विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउनेगरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरिसकेको मन्त्री खतिवडाले बताए ।
संघीय सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा आज प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा कार्यक्रम आयोजना भएको थियो । सोही कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय सरकारसमेतको सहयोगमा कोरोनाविरुद्ध प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताए ।
उनले कोभिडको तेस्रो झम्टाइलाई प्रदेश सरकार अत्यन्त सुझबुझका साथ सामना गर्ने पक्षमा रहेको पनि बताए । आर्थिक गतिविधिसमेतलाई क्रियाशील राखी कोभिडको तेस्रो लहरलाई सामना गर्नुपर्ने मुख्यमन्त्री राईको धारणा थियो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पहाडी र हिमाली जिल्लामा खोप लगाउने प्रतिशत राम्रो भएको जानकारी दिए । तराईकै जिल्लामा खोप लगाउनेको संख्या कम भएकोमा अब प्रभावकारी योजनामार्फत खोप लगाउने लक्ष्य पूरा गरिने उनको भनाइ थियो ।
यसैबीच सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश १ मा कोभिड १९ वर्तमान अवस्थाका बारे जानकारी दिएका थिए । उनका अनुसार माघ १ गतेसम्म प्रदेश १ मा संक्रमितको संख्या एक लाख ५४ हजार एक सय ६१ पुगेको छ । प्रदेशमा ६ लाख ६७ हजारले पीसीआर र एन्टिजेन परीक्षण गराएका छन् ।
अहिले प्रदेश १ मा सक्रिय संक्रमित संख्या एक हजार तीन सय ९७ छ । कोभिडका कारण प्रदेश नं. १ मा दुई हजार एक सय ९६ जनाको मृत्यु भएको छ । प्रदेशमा विभिन्न खोप गरी पहिलो डोज लगाउनेको संख्या २६ लाख र दोस्रो डोजसहित पूर्ण खोप लगाउनेको संख्या १७ लाख ५० हजार छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य सेवा क्षेत्रका प्रमुखहरू, प्रदेशस्तरीय मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।