विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीहरुको टोलीले बिहीबार विराटनगरको भारतसँग सीमा जोडिएका क्षेत्रहरुको स्थलगत अनुगमन गरेको छ ।
सरकारले सीमा क्षेत्रमा निर्माण गरिरहेको होल्डिङ सेन्टर, जोगवनीबाट रानी प्रवेश गर्ने मुख्य नाका र कोरोना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भइरहेको कामको बारेमा पनि मुख्यमन्त्रीसहितको टोलीले अनुगमन गरेको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादवसमेतले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमनमा सहभागी थिए ।
भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा प्रदेश १ मा ओमिक्रोनको संक्रमण प्रसार हुनसक्ने सम्भावित नाकाहरुमा निगरानी बढाउन र नियन्त्रणका लागि सबै उपायहरु अवलम्बन गर्न सरकार तत्पर रहेको मुख्यमन्त्री राईले बताए ।
मुख्यमन्त्री राईले खोप अभियानलाई क्रमश बढाउँदै लैजाने जानकारी दिँदै शुक्रबार सवैदलीय बैठक बसेर महामारी नियन्त्रणमा सबै मिलेर अघि बढ्ने वातावरण बनाउने बताए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले चार दिनभित्र होल्डिङ सेन्टर निर्माण गरिसक्न निर्देशन दिए । उनले दिनरात काम गरेर भएपनि चार दिनभित्र काम सकिनुपर्ने बताउँदै तत्काल एक सय शय्या तयार पार्न आग्रह गरे । सीमा नाकामा संक्रमणको जोखिम बढी हुने भएकोले अनावश्यक आवतजावतलाई रोक्नु पर्ने भन्दै टोलीले सोही अनुसार निगरानी र नियन्त्रणमा ध्यान दिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएको थियो ।
विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ । गतअसार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टर एक महिनाभित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाको लक्ष्य भएपनि तत्काल निर्माण सम्पन्न गर्ने सरकारले निर्देशन गरेको हो ।
पानी र बिजुली अभावका कारण होल्डिङ सेन्टर निर्माणमा गतिरोध उत्पन्न भइरहेको जानकारी नेपाली सेनाले गराएपछि विराटनगर १६ का वडाध्यक्ष मनोज सुब्बाले पानी र बिजुली तत्काल उपलब्ध गराउन आफू लागिपर्ने बताउनुभयो ।
सीमा क्षेत्रको अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयका अधिकारीहरु समेत सहभागी हुनुभएको थियो ।