फोनिजको प्रदेश १ महाधिवेशन 

पहिचानको आधारमा प्रदेशको नामाकरण : मन्त्री आङ्बो

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पहिचानको आधारमा प्रदेश १ को नामाकरण गर्न प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनको मंगलबार उद्घाटन गर्दै मन्त्री आङ्बोले यस्तो बताएका हुन् ।

पाँच दलीय गठबन्धन सरकार पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने पक्षमा रहेको उनले बताए । सत्तारुढ दललले चाहेर मात्र प्रदेशको नामाकरण राख्न दुइतिहाइ नपुग्ने भएकोले विपक्षी दल नेकपा एमाले पनि पहिचानको आधारमा नामाकरण गराउन साथ सहयोग गरिनुपर्ने उनले बताए । अहिलेसम्म प्रदेशको नामाकरण एमाले अध्यक्ष केपी शर्मा ओलीको कारणले हुन नसकेको उनले आरोप लगाए ।

‘तत्कालिन नेकपाको सरकार रहँदा प्रदेशमा दुई तिहाइको सरकार रहेको थियो । त्यसबेला प्रदेशको नामाकरण राख्न बहुमत थियो । त्यसबेला तत्कालिन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले पहिचानको आधारमा नामाकरण राख्न नदिँदा अहिलेसम्म प्रदेशले नाम पाएन,’ उनले भने ।

उनले पाँच वर्षभित्रको कार्यकालमा पहिचानको आधारमा प्रदेशको नामाकरण गरेर मात्र जनादेशमा जानुपर्ने बताए । एमालेले प्रतिशोध नसाँधिकन पहिचानको आधारमा नामाकरण गराउन प्रदेश सरकारलाई सहयोग गराउनुपर्ने बताए । यसअघिको सरकारले जुन ठाउँमा छोडेर गएको त्यही ठाउँमा प्रदेश रहेको उनले बताए ।

जनताको जनपेक्षा अनुसार काम गरेर प्रदेश सरकार अगाडि बढ्ने उनले बताए । पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनताले अनुभूति हुने विकासको काम गरेर गठबन्धनको सरकार अगाडि बढ्ने मन्त्री आङबोले बताए । मन्त्रीपरिषद पनि विस्तार गरि चाँडै सरकार अगाडि बढ्ने उनले बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फिोनिज)को केन्द्रीय अध्यक्ष डण्ड गुरुङले फोनिजले पछाडि पारिएका समुदायलाई पहुँच र प्रतिनिधित्वको लागि सञ्चार क्षेत्रबाट बहस चलाउँदै आएको बताए । उनले मातृ भाषा पत्रकारिताको विकास, आदिवासी जनजातिसँग सम्बन्धित कला, सीप, संस्कृतिको विकासमा पनि अगाडि बढनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले फोनिजलाई पत्रकारहरुको साझा संगठनको रुपमा विकास गरेर अगाडि बढनुपर्नेमा जोड दिए । कार्यक्रममा फोनिज प्रदेश १ का अध्यक्ष अर्जुन जम्मेली राईले फोनिजले व्यवसायिक नेतृत्व उत्पादन गर्दै समय अनुसार सीप प्रदान गर्दै अगाडी बढेको बताए ।

सोही अवसरमा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङलाई अभिनन्द गरियो । गुरुङलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहदाुर आङबोले सम्मान गरेका थिए । महाधिवेशनमा धिमाल जातीको कला संस्कृतिका साथै च्याब्रुङ, साकेला, सन्थाल, झाँगडलगायतको सांस्कृतिक झाँकी प्रदर्शन गरियो । महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित रहेको छ ।

मङ्गलबार, २७ पुष, २०७८, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर