विराटनगर । अतिरिक्त शुल्क लिएको विरोधमा मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन चर्काउँदै लगेपछि सरकारले कडा विज्ञप्ति जारी गरेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो ।
पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजको खारेज गर्ने भन्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा ऐन बमोजिम गर्ने चेतावी दिएका हुन् ।
‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानुनी रूपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क) मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ। विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानुनबमोजिम कारबाही भन्दै सम्बन्धित विश्वविद्यालयहरूलाई निर्देशन दिइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
चिकित्सा शिक्षाको एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ। मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएकोभन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरूले बढी शुल्क नबुझाए विद्यार्थीलाई परीक्षा दिनै बञ्चित गराउँदै आएका छन्।
कानूनमा के छ ? हेर्नुहोस् विज्ञप्ति