ओलीको ‘कोपभाजन’देखि मुख्यमन्त्रीसम्म

२०६० सालमा माओवादीले घरैबाट अपहरण गरेर एक हप्ता कब्जामा राखेका राई १८ वर्षपछि माओवादीकै समर्थनमा मुख्यमन्त्री बने

विराटनगर । नेकपा एमालेमा जब केपी शर्मा ओली नेतृत्वमा उदाए, नेता राजेन्द्र राईका लागि सम्भावनाका धेरै ढोका बन्द जस्तै भए ।उनीभन्दा धेरै जुनियरहरुले अनेकौं जिम्मेवारी पाए । तर, ओलीले राईलाई लगभग भूमिकाविहीन तुल्याए । एमाले अखिलको दुई पटकसम्म सफल नेतृत्व गरेका राईलाई फरक मत राखेकै आधारमा ओली र उनको टिमले सधैं पाखा लगाउने प्रयास गर्यो ।

गएको भदौ ९ मा एमाले विभाजित बनेपछि राजेन्द्र ओलीको छायाँबाट मुक्त मात्रै बनेनन्, त्यसको दुई महिनापछि प्रदेश १ को मुख्यमन्त्री पनि बन्दैछन् । भीम आचार्यलाई विस्थापित गरेर मुख्यमन्त्री बन्ने तयारीमा रहेका राईले आजै सपथ लिँदैछन् ।

प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्ने तयारीमा रहेका राईको जन्म वि.सं. २०२७ असार १५ मा भोजपुरको (किमालुङ गाविस) हाल षडानन्द नगरपालिका १० सुर्केमा भएको थियो ।

बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका ४ सन्तानमध्ये कान्छा सदस्य उनले स्कुलबाटै अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए । स्कुलको अखिल इकाई सचिवबाट सुरु भएको उनको राजनीतिक यात्रा त्यही संगठनको राष्ट्रिय अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्रीसम्म तन्किएको छ ।

२०४३ मा एसएलसी उत्तिर्ण गरेपछि लगातार रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा पढेर त्यहीँबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका उनले हालसम्म ३७ वर्ष पूर्णकालीन राजनीतिमा बिताइसकेका छन् ।

एमाले अखिलको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उनी पहिलोपटक २०५७ मा अखिल अध्यक्ष बनेका थिए । पहिलो कार्यकाल २०५९ मा सिध्याएका उनी ०५९ देखि ०६१ सम्म पुनः अखिल अध्यक्षमा दोहोरिएका थिए । २०४९ मा रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापति बनेका उनी अध्यक्ष हुँदा एमाले अखिल स्ववियु निर्वाचनमा सबैभन्दा ठूलो विद्यार्थी संगठन बनेको थियो । उनकै नेतृत्वको अखिलले केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलनबाट गणतन्त्रमा जानुपर्ने माग गरेको थियो ।

राजा ज्ञानेन्द्रको शासनकालमा विद्यार्थी आन्दोलनको अगुवाई गरेर सडक तताएका राई एमालेमा केपी ओलीको उदयसँगै किनारामा पारिएका थिए । एमालेमा छँदा उनलाई नजिकैबाट चिन्नेहरुका अनुसार ओली र उनको टिमले सधैं पूर्वाग्रहपूर्वक पाखा लगाउने प्रयास गरेका नेता हुन् राई ।

लामो समय अखिल राजनीतिमा सक्रिय उनी पहिलोपटक २०६८ मा केन्द्रीय सदस्य मनोनित भएर पार्टीमा सक्रिय बनेका थिए । २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट उनी पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका उनी २०७४ को प्रदेशसभामा निर्वाचनमा भोजपुरबाट निर्वाचित भएका थिए । पञ्चायतकालमा ७ महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका उनले शाहीकालमा पनि ४ महिना प्रहरी तालिम केन्द्रमा बन्दी दिन व्यतित गरेका थिए ।

२०६० सालमा माओवादीले भोजपुरको घरैबाट अपहरण गरेर एक हप्ता कब्जामा राखेका राई १८ वर्षपछि माओवादीकै सक्रिय समर्थनमा मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

मङ्गलबार, १६ कार्तिक, २०७८, दिउँसोको १२:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर