विराटनगर । प्रदेश १ को मुख्यमन्त्री आलोपालो हुनुपर्ने सहमति गर्नका लागि संसद वैठक स्थगितको निवेदन दिइएको कांग्रेसले जनाएको छ ।
कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले आलोपालो सहमति गर्नका लागि समय चाहिने भएको कारण संसदमा विश्वासको मत लिने कार्यक्रम स्थगित गर्न निवेदन दिइएको बताए ।
‘प्रष्ट कुरा आउनु पर्यो नि,’ कोइरालाले भने, ‘सबै माननीयज्यूहरुको भावना सम्बोधन हुनुपर्यो नि ।’ कांग्रेस सभापति देउवाबाट प्रष्ट निर्देशन आउनुपर्ने कोइरालाको माग छ । ‘बाग्मतीमा एउटा निर्णय प्रदेश १ मा अर्को निर्णय भएको हो भने पनि सोही अनुसारको निर्णय त आउनु पर्यो नि,’ उनले भने ।
आजको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्तावमा छलफलमा तयारी भइरहेको बेला कांग्रेस र एमालेले बैठक रोक्न माग गरेको हो । एमालेले १५ गतेमात्रै बैठक संचालन हुनुपर्ने माग गरेको छ । १५ गते अगाडि पार्टीको कार्यक्रमहरूले गर्दा त्यतिन्जेल सम्मकालागि बैठक रोक्न एमलोले निवेदन दर्ता गरेको हो ।