विराटनगर । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा बाढी प्रभावितको अवलोकनका लागि प्रदेश १ आएपछि आज बस्ने प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसले माग गरेको छ ।
आजको प्रदेशसभा बैठकमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची थियो । देउवा आएको र बाढी पहिरो प्रभावित क्षेत्रमा आफ्ना अधिकांश सांसदहरु रहेकोले बैठक स्थगित गर्न माग गरिएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताए ।
‘फ्लोर क्रस गर्ने हल्लाखल्लाका कारण बैठक रोक्न माग गरिएको होइन,’ तपाईका सांसदले विश्वासको मत दिने भनेकोले स्थगित गर्नुभएको रे होइन भन्ने प्रश्नमा कार्कीले भने, ‘त्यस्तो होइन, अहिले विश्वासको मत दिने नदिने भन्दा पनि जनता पीडामा परिरहेको अवस्थामा १÷२ दिन बैठक स्थगित गरौं भनेका हौं ।’
आफूले संसद सचिवालयमा निवेदन दर्ता गराएको कार्कीको भनाइ छ । बैठक रोक्न माग गरेसँगै कांग्रेस सांसदहरुले भीम आचार्यलाई मत दिने सम्भावना रहेको चर्चा चुलिएको छ ।
९२ सदस्यीय प्रदेशसभामा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनलाई वहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जनामात्र सांसद छन् । त्यसमध्ये पनि सभामुख र फरार सूचीमा रहेकी सांसद नहुँदा एमालेका ३९ जनामात्रै सांसदले मतदातमा सहभागी हुनेछन् ।
अन्य पार्टीको मत चोर्नका लागि पनि एमालेलाई ८ जना सांसदले फ्लोर क्रस गर्नुपर्ने देखिन्छ । सभामुख प्रदीप भण्डारीले भने प्रदेशसभा बैठक रोक्ने वा नरोक्ने निर्णय गर्नुअघि दलहरूसँग परमार्श गर्ने तयारी गरेका छन् ।