विराटनगर । प्रदेश १ र वागमतीको सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयप्रति असन्तुष्ट काँग्रेस नेता राजीव कोइरालाले गठबन्धनको निर्णय पालनाको विकल्प नभएको बताएका छन् ।
शुक्रबार सुरु भएको प्रदेश १ संसद्को हिउँले अधिवेशनको पहिलो बैठकमा काँग्रेसको तर्फबाट मुख्यमन्त्रीको दाबी गरिरहेका संसदीय दलका नेता कोइरालाले पार्टी सभापतिको निर्णयमा असन्तोष जनाउन संसद्मा सरकारको प्रतिरक्षा हुने गरी बोलेका थिए । कोइरालाको अभिव्यक्तिप्रति काँग्रेस सांसदहरुले नै आश्चर्य व्यक्त गरेका थिए।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार सार्वजनिक गर्दै नेता कोइरालाले गठन्धनको निर्णय पालनाको विकल्प नभएको बताएका हुन् । आफूलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने र शुभेच्छा प्रकट गर्नेप्रति आभार व्यक्त गर्दै नेता कोइरालाले निर्णय पालनाका लागि तयार रहन र त्यसबारे टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।
काँग्रेस स्रोतका अनुसार शनिबार काठमाडौंबाट विराटनगर आएका रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नेता कोइरालासँग भेट गरेर छलफल गरेका थिए । त्यसपछि कोइरालाको यस्तो विचार सार्वजनिक भएको हो ।
प्रदेश १ मा काँग्रेसले मुख्यमन्त्री दाबी गरिरहेको थियो । मुख्य विपक्षी भएका कारण आफ्नो स्वाभाविक हक भएको काँग्रेस दाबी थियो । तर, केन्द्रमा आफूलाई बलियो बनाउन प्रधानमन्त्री देउवाले प्रदेश सरकार एकीकृत समाजवादीलाई दिएर केन्द्रमा धेरै मन्त्रालय लिएपछि देउवा इतर समूहमा असन्तोष बढेको थियो । डाक्टर शेखर कोइराला समूहका नेता राजीव कोइरालाले पनि त्यही असन्तोष पोख्न संसद्मा सरकारलाई सहयोग हुने गरी बोलेका थिए ।