काठमाडौं । लामो समयपछि नेकपा माओवादी केन्द्रले देउवा नेतृत्वको सरकारमा जाने मन्त्री तथा राज्यमन्त्रीको टुंगो लगाएको छ ।
माओवादीले टुंगो लगाएको नाममा प्रदेश १ बाट कोही पनि परेका छैनन् । प्रदेश १ बाट सुरेश कुमार किराँती (हिमाल), सुदन राई, शिवकुमार मण्डल र अमनलाल मोदीको नाम चर्चामा थियो ।
यद्यपि माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री तथा बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रको भागमा परेको मन्त्रालयमध्ये यसअघि नै जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनिसकेका छन् । माओवादी केन्द्रको भागमा ५ जना मन्त्री र १ जना राज्यमन्त्री परेको छ। आज बसेको माओवादीको स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो ।