विराटनगर । आउँदै गरेको दशैं, तिहार, छठ पर्वलाई लिएर १४ जिल्ला रहेको प्रदेश १ मा सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रदेशमा चार्डपर्व लक्षित सुरक्षा योजना प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्यान्वयनमा ल्याएको १ नं. प्रदेश प्रहरी कर्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए ।
प्रदेशभरीमा ७ हजार भन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए । दशैं, तिहार, छठ पर्वलाई लक्षित गरि सुरक्षा व्यवस्था कडा पारिने डिआइजी बिसीले जानकारी दिए । त्यसका लागि प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई समन्वयमा चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको उनले बताए । ठूलो आर्थिक कारबोर हुने सुन पसल, सपिङ महल, बैकिङ क्षेत्रमा सादा पोशाकका प्रहरीमार्फत विशेष निगरानी बढाइने डिआईजी बिसीले जानकारी दिए । त्यसैगरी सीमा क्षेत्रबाट हुने चोरी, पैठारी–निकासी, लागुऔषधको कारोबार, भीडभाड हुने क्षेत्रमा सर्वसाधारणको धनमाल लुटिने र ठगिन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै प्रहरीले विशेष निगरानी गर्ने डिआईजी बिसीको भनाइ छ ।
प्रदेशको जिल्लाहरूको विभिन्न स्थानहरूमा नियमित चेक प्वाइन्ट ड्युटी (मापसे चेकिङ सहित) राखिने व्यवस्था मिलाइएको छ । साथै विभिन्न स्थानहरूमा ट्राफिकसहितको संयुक्त चेकिङ गरिने छ भने सीमा नाकामा चोरी तस्करी नियन्त्रण गर्नका लागि पनि प्रहरी परिचालन गरिनेछ । बजार एरिया र राजमार्गहरुमा हुने गतिविधिलाई सहज बनाउन पिकेट स्कर्टिङ मोवाईल गस्ती पनि परिचालन गरिने छ ।
आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थलहरूको सुरक्षा व्यवस्थापन गरिएको छ । चाडबाडको समयमा जुवातास, मापसे गरी झै–झगडा, अपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरू र बैंक तथा वित्तिय संघ–संस्थालगायतका क्षेत्रलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमारी जस्ता अपराधिक गतिविधि निस्तेज र निरुत्साहित गर्नका उक्त, योजना तयार गरिएको डिआइजी बिसीले जानकारी दिए । प्रदेश प्रहरी कार्यालयले प्रदेश तथा मातहत कार्यालयहरूमा चाडपर्व अवधिभर सादा पोसाक र गस्ती जस्ता कार्यहरू पनि बढाउने उनले बताए ।
१४ जिल्लामा यात्रु सहायता कक्ष संचालन
चाडपर्वलाई लक्षित गरि प्रदेश १ को जिल्ला जिल्लाहरूमा यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा आएको छ । ६६ औं प्रहरी दिवसको अवसर पारेर १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुण कुमार बिसीले आइतबार एक कार्यक्रमकाबीच यात्रु सहायता कक्षको उद्घाटन गरि संचालनमा ल्याएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बसपार्कमा बनाएको यात्रु सहायता कक्षको उद्घाटन डिआइजी बिसीले गरेका थिए । कार्यक्रममा बोल्दै उनले चाडपर्वलाई लक्षित गरि प्रदेश १ को १४ जिल्लामा यात्रु सहायता कक्ष संचालनमा ल्याएको जानकारी गराए ।
‘यात्रुहरूलाई सहजता प्रदान गरिन हामीले १४ जिल्लाहरूमा एक साथ प्रहरी दिवसको अवसर पारेर यात्रु सहायता कक्ष संचालनमा ल्याएका छौं,’ डिआइजी बिसीले भने, ‘ यात्रु सहता कक्षमा प्रहरी रहन्छ । यात्रुलाई परेको समस्याहरू बुझेर समस्याको सावधान गर्नेतिर लाग्नेछन् ।’
ट्राफिक प्रहरीले सडकको राजदुतको हिसाबले काम गरेको जानकारी दिँदै डिआइजी बिसीले ट्राफिक व्यवस्थापनमा प्रहरी अग्रभावमा रहेर काम गर्दै आएको बताए । ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणको लागि एकल प्रयासले मात्र सम्भव नहुने भएकोले सबै जिम्मेवार भएर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
मोरङको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा ल्याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार विराटनगर बसपार्क, रानी, गछिया, उर्लाबारी र रंगेलीमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको बताए ।
दसैँ, तिहार र छठ पर्वलाई लाई लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिने ट्राफिक प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिने भएको हो,’ उनले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गरिनेछ ।’
यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म दुईजना प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए । उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् । कोभिड १९ बाट बच्न स्वास्थ्य मापदण्डको पालना गराउँदै सामाजिक दुरी कायम पनि गरिने उनले बताए ।
कार्यक्रममा १ नंं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी बासुदेव खतिवडा, जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमला, नेपाल यातायत व्यवसायी महासंघ मोरङका संयोजक राजन कडेलललायले बोलेका थिए । सोही अवसरमा चार दशक देखि ट्राफिक नियम पालान गरि सवारी चालउने तीन जना चालकहरूलाई पनि सम्मान गरिएको छ । यसरी सम्मानित हुने चालकहरूमा धर्म कुमार अधिकारी, दिपक बुर्जा मगर र अम्बिका अधिकारी रहेका छन् ।