विराटनगर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने बताएका छन् ।
बालबालिकाका लागि सरकारले १ करोड खोप ल्याउनका लागि सुनिश्चितता गरेकोले दसैंपछिबाट खोप लगाउन सुरु गर्ने उनले बताए ।
सरकारले बालबालिकाहरुलाई लक्षित गरेर ४० लाख मोर्डना र ६० लाख फाइजरको खोप खरिदको प्रकृया अगाडि बढाएको छ । फाइजरको खोप खरिदका लागि रकम भुक्तानीसमेत गरिसकेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । दसैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए । उनले फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने बताए ।
राज्यमन्त्री श्रेष्ठले कान्ती बाल अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै खोपको प्रतिक्षा गरिरहेका जनतालाई आश्वस्त रहन आग्रह गरेका हुन् ।