विराटनगर । विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएको ३४ लाखको कपडा बोकेको एउटा ट्याक्टरमा भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) प्रणालीमा गाडी नम्बर उल्लेख नभएको भेटिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
३४ लाखको कपडा बोकेको ट्याक्टर र सामान सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) विराटनगरले विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्याक्टर र सामान अनुसन्धानको लागि इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । भीसीटीएस नम्बर उल्लेख नभएपछि प्रहरीले चालक भारत जोगवनीका ३२ वर्षीय पंकज यादवलाई पनि नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टरमा लोड गरिएको ३४ लाखको लत्ताकपडा र ट्याक्टर चालकसहित नियन्त्रणमा लिएर हिंजो साँझ आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
भिसिटिएस नम्बर उल्लेख नगरी सामानको आयत गर्न सहजिकरण गर्ने भन्सार एजेन्ट गुलाफ साह हुन् । उनको प्रतिनिधी मन्टु साहले भिसिटिएस नम्बर उल्लेख नगरी कपडासहित ट्याक्टर भित्र्याएको बुझिएको छ । यो कपडा विराटनगरस्थित जया इम्पेक्सले आयत गरेको प्रहरीले जनाएको छ । यसरी भिसिटिएस नम्बर उल्लेख नगरि लाखौं सामान आयात गर्दा कम मूल्यांकन र भन्सारको कर्मचारीहरूसँग मिलेर राजस्व छली गरेको हुनसक्ने भएकाले प्रहरीले थप अनुसन्धान र कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाएको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काले सशस्त्रले बुझाएको ट्याक्टरको नम्बर भीसीटीएस प्रणालीमा उल्लेख नभएको बताए । ‘यस विषयमा हामीले अनुसन्धान सुरू गरेका छौं,’ उनले भने, ‘आयात भएको सामानको पनि हामीले गणाना सुरू गरेको छौं । राजस्व छली, वा कम मूल्यांकन नभए नभएको थप विषय अनुसन्धानपछि मात्र खुल्नेछ ।’ अनुसन्धानका क्रममा कुनै कैफियत भेटिएमा कारबाही अघि बढाइने जानकारी खड्काले दिए ।
भिसिटिएस प्रणाली अन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्महरूले मालसामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ । यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ । ढुवानीको सुरूको विन्दु र अन्तिम विन्दुसम्मै विभागले ट्रयाकिङ गरिरहेको हुन्छ । राजश्व चुहावटको सम्भावना कम गरेर राजश्व प्रशासनमा सुधार आउँछ भन्ने उद्देश्यले २०७६ साल साउन १ गतेदेखि अनिवार्य रूपमा भिसिटिएस लागू गरिएको थियो । सामान पुग्नुभन्दा अगाडि अनगोइङ र पुगेपछि डेलिभरीको सूचना अनलाइनमै प्राप्त हुन्छ ।
‘कुन चालकले सामान साधन चलाइरहेको हो त्यो पनि थाहा हुन्छ,’ खड्काले भने, ‘त्यो साधन कहाँ–कहाँ पुग्छ भन्ने सबै थाहा हुन्छ, कसले किनेको कसले बेचेको थाहा हुन्छ ।’ भीसीटीएस प्रणालीअन्तर्गत अनलाइनमा ‘इन्ट्री’ नगरेमा त्यस्ता मालबहाक सवारी साधनलाई कारबाही गर्ने गरिएको छ ।
यता विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले भिसिटिएस भन्सारले नहेर्ने भएकोले यस विषयमा राजस्वले कार्यालयले हेर्ने भएकोले हामीलाई थाहा नहुने बताए ।
यसअघि पनि विराटनगर भन्सार कार्यालयका कर्मचारी, ऐजन्टर र एजेन्ट प्रतिनिधीको मिलोमतामा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले कपडा र विभिन्न सामान बोकेको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान पुरा गरेपछि १८ लाख मुल्य बरावरको राजस्व छलि गरेको पुष्टि भएको थियो । राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दिपक खड्काको नेतृत्वमा आएको टोलीले विराटनगरदेखि विभिन्न समाग्री बोकेको को २ त ६८११ र बीआर ५० जी ५०५३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो ।
प्रारम्भीक चरणको अनुसन्धानदेखि भन्सार एजेन्ट प्रतिनिधि अकबर अलीले आयात गरेको दुई ट्क्याक्टर सामानमा १४ लाख मूल्य बराबर कम मूल्यांकन र चार लाख रुपैयाँ मूल्य बराबरको सामान भन्सार नै नतिरि ल्याएको राजस्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ ।