कोसी अस्पतालले स्वास्थ्य बीमा बापत करोडौं रकम पाउन बाँकी

नियमित सेवा र फार्मेसी सञ्चालन गर्नै हम्मे

विराटनगर । कोसी अस्पताल विराटगनरले स्वास्थ्य बीमा मार्फत उपचार र औषधि सेवा उपलब्ध गराएबापत पाउनु पर्ने करोडौं रकम नपाउँदा अस्पताल सञ्चालनमा समस्या भएको छ । कोसी अस्पताल विराटनगरले माघ महिना यता सरकारले स्वास्थ्य बीमा वापतको रकम भुक्तानी नदिएको जनाएको छ ।

सरकारले नियमित रुपमा बिमा वापतको रकम नदिँदा अस्पतालको प्याथोलोजी ल्याब, रेडियोलोजी विभाग र फार्मेसी सञ्चालनमा कठिनाइ आएको अस्पतालले जनाएको छ । लामो समय भुक्तानी रोकिदा संकटको अवस्था आएको अस्पतालले जनाएको छ ।

कोसी अस्पतालले स्वास्थ्य बिमा तर्फमात्र नेपाल सरकारबाट ५ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । परीक्षण सेवा, प्याथोलोजी तथा रेडियोलोजी सेवा र भर्ना सेवा बापत अस्पतालले २ करोड ८० लाख ९४ हजार रुपैयाँ भुक्तानी पाउन बाँकी छ । यस्तै फार्मेसी तर्फ २ करोड ७ लाख १७ हजार रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । दुवै शिर्षकमा भदौ महिनाको पनि झण्डै एक करोड रुपैयाँ हाराहारीमा रकम भुक्तानी पाउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
नेपाल सरकारले स्वास्थ्य बीमा वापतको रकम भुक्तानी नदिँदा अस्पतालले विकास समिति तर्फका कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आउन लागेको भन्दै चिन्ता गर्न थालेको छ । अस्पतालले हरेक सात दिनमा बिमा रकम दाबी गर्दै आएको भएपनि सरकारले ६ महिना भन्दा बढी समयदेखि बिमा रकम भुक्तानी नगरी रोकेर राखेको हो ।

समयमा रकम निकासा नहुँदा त्यसको नकारात्मक असर सर्वसाधारण बिरामीहरुमा पर्ने भएकोले सरकारले नियमित भुक्तानी गर्नुपर्ने कोसी अस्पतालका लेखा प्रमुख राजेन्द्र सुवेदीले बताए । ‘बिमाले समयमा भुक्तानी नगर्दा अस्पतालको फार्मेसीले नियमित रुपमा औषधि खरिद गर्न नसक्ने समस्या हुने गरेको छ,’ लेखा प्रमुख सुवेदीले भने ‘सप्लायर्सहरुले हामीलाई औषधि दिनै मान्दैनन् त्यसको मुख्य कारण भनेकै समयमा भुक्तानी गर्न नसक्नु हो ।’

कोसी अस्पतालमा स्वास्थ्य बिमा मर्फत दैनिक सरदर ८०० जनाले उपचार सेवा लिने गरेका छन् । कोसी अस्पताललाई सुरु उपचार केन्द्र बनाएका बिरामीहरुको संख्या उल्लेख्य रहेकोले उपचार लिनेहरु धेरै छन् । विगतमा सहजरुपमा रेफर लिएर निजी अस्पतालहरुमा जाने प्रवृत्तिलाई कडाइ गरेपछि अस्पतालबाटै सेवा लिने क्रम बढेको छ । त्यसबाट अस्पतालको आम्दानीमा पनि सुधार भएको जनाएको छ । तर, स्वास्थ्य बिमा बापतको रकम समयमा नआउँदा नियमित खर्च धान्नसमेत समस्या हुने गरेको अस्पतालले जनाएको छ । कतिपय बेलामा ल्याबको महत्वपूर्ण केमिकल खरिद गर्न, मर्मत सम्भार गर्न र जरुरी औषधिहरुको व्यवस्थापन मिलाउन कठिन हुने गरेको बताइएको छ ।

दसैं अगाडि स्वास्थ्य बिमा वापतको रकम भुक्तानी नपाए कर्मचारीहरुलाई तलव र दसैं खर्च दिनसमेत गाह्रो हुने अवस्था आएको भन्दै अस्पतालले रकम उपलब्ध गराउन स्वास्थ्य विभागमा ताकेता गरिरहेको छ । तर, सबैं रकम भुक्तानी हुनेमा भने अस्पतालले विश्वास गरेको छैन ।

नियमित रुपमा रकम भुक्तानीको सुनिश्चितता गर्न नसक्दा फार्मेसीले प्रयाप्त औषधिको प्रवन्ध गर्न सकेको छैन । जसले गर्दा चिकित्सकले सिफारिस गरेको र स्वास्थ्य बिमामा सूचिकृत भएको औषधिहरुसमेत फार्मेसीमा अभाव भई बिरामीले बाहिरबाट किन्न पर्ने अवस्था आउने गरेको छ । यसबाट सर्वसाधारणमा स्वास्थ्य बिमाप्रति नकारात्मक धारणा बन्ने र अस्पतालको सेवाप्रति नै नकारात्मक टिप्पणी हुने गरेको छ ।

शनिबार, ०९ असोज, २०७८, बिहानको ११:२१ बजे

प्रतिक्रिया

  1. स्वास्थ्य सेवा बिभागले मासिक रुपमा नभएपनी त्रैमासिक रूपमा बिमाको पैसा सम्बन्धित अस्पताललाई उपलब्ध गराउनु पर्छ छ/ छ महिना सम्म स्वास्थ्य बिमाको पैसा नदिनु भनेको सरकारको गम्भीर लापरबाही हो अत: सरकारको चाडो भन्दा चाडो यश प्रति ध्यान जाओस् र जन्ताले पाइरहेको सुबिधाबाट कोहि पनि बन्चित हुन नपरोस् ।

प्रतिक्रिया:

सम्बन्धित खवर