काठमाडौं । नेपाल र भारतीय राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज आइतबार साँझ दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५ः३० बजे हुनेछ ।
अर्को महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । विहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।
दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको पहिलो खेलमा रहेको सुरुवाती ११मा केहि परिवर्तन गर्न सक्नेछन् । साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीका धेरै भन्दा धेरै खेलाडी प्रयोग गर्ने लक्ष्य रहेको प्रशिक्षक अलमुताइरीले बताएका थिए ।
गोलरक्षक तथा कप्तान किरण चेम्जोङले आइतबारको खेल खेलेमा उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनले बिहीबार खेल्दै पूर्व कप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए । यद्यपि उनले पूरा समय खेल्नेमा भने शंका छ । प्रशिक्षक अलमुताइरीले आवश्यक परेको खण्डमा अन्य गोलरक्षक पनि तयार रहनुपर्ने हुँदा केहि समय दिने बताएका थिए ।
पहिलो खेलमा अनन्त तामाङसँगै दिनेश राजवंशी, सुमन अर्याल र गौतम श्रेष्ठले रक्षापङ्ति सम्हालेका थिए । डिफेन्समा धेरै विकल्प पनि नरहेकाले यसैले निरन्तरता पाउने देखिन्छ । मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा रहँदा विंगर फरवार्डको रुपमा आयुष घलान र अन्जन विष्ट तथा अग्रपङ्ति नवयुग श्रेष्ठले सम्हालेका थिए । आजको खेलमा मिडफिल्डमा केहि परिवर्तन हुन सक्छ । आक्रमणमा पनि मनिष डाँगी र आशिष लामा टोलीमा आउन सक्छन् ।
प्रशिक्षक अलमुताइरीले अनुभवी मिडफिल्डरद्वय विशाल राई र सन्तोष तामाङलाई बेञ्चमा राख्दा युवा विंगर आयुष घलानलाई पहिलो रोजाईमा मैदानमा उतारेका थिए । आयुषले घरेलु डेब्युमा राम्रो छाप पनि छाडेका थिए । विशाल राइले पनि बेन्चबाट आएर राम्रो प्रदर्शन गरे ।
प्रशिक्षक अलमुताइरीले गोलरक्षक विशाल श्रेष्ठ वा दीप कार्कीमा एकलाई डेब्यु दिने सम्भावना छ । अघिल्लो मैत्रीपुर्ण खेलमा नितिन थापाले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । डिफेन्डर राजन गुरुङ पनि पहिलो खेलको पर्खाइमा छन् ।
यता, दक्षिण एसियाली पावर हाउस भारत पनि घरेलु टोली नेपाललाई हराउने लक्ष्यमा मैदान उत्रनेछ । भारतसँग कप्तान सुनिल क्षेत्रीसँगै गुरप्रित सिंह सन्धु, आकाश मिश्रा, ब्रान्डन फर्नान्डेस, रहिम अली, सुवासिस बोस, लिस्टन कोलाको, मनविर सिंह, अनिरुद थापा, चिङलेनसाना सिहं कोन्साम र राहुल भेके रहेका छन् । पहिलो खेलमा हाफ टाइममा नै ४ परिवर्तन गरेको भारतले दोस्रो खेलमा पनि निकै परिवर्तन गर्ने देखिन्छ ।
नेपालले भारतलाई सन् २०१३ यता हराउन सकेको छैन । अनिल गुरुङ र जुमानु राईको गोलमा नेपालले सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसयता नेपालले दक्षिण एसियाली महारथीविरुद्ध जित हात पार्न सकेको छैन ।
यसक्रममा ६ खेलमा नेपालले चार हार र २ बराबरी निकालेको छ । अहिलेसम्मका २० खेलमा नेपालले २ खेल जितेको छ । ५ खेलमा बराबरी गरेको छ । बाँकी १३ खेलमा भारतले नेपाललाई हराएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिहीबार जस्तै ५ हजार १ सय दर्शकले मात्र रंगशाला पुगेर फुटबल हेर्न सक्ने बताएको छ । कोरोनाविरुद्धको दुवै खोप लगाएका वा कोरोना टेष्ट नेगेटिभ भएकाले मात्र खेल्न हेर्न सक्नेछन् ।
मैत्रीपूर्ण खेलपछि शुक्रबार नेपाली टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार जानेछ । त्यहिबाट असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपमा भाग लिन जानेछ । आयोजक समेत रहेको साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै नेपालले साफ च्याम्पियनसिपको यात्रा थाल्नेछ ।
बंगलादेशमा २०१८ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले हराएको थियो । त्यो संस्करण माल्दिभ्सले जितेको थियो । यसपटक ५ टोलीको सहभागिता रहने च्याम्पिनसिपमा राउन्ड रोविनका आधारमा हुनेछ । साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।