विराटनगर । लोकसेवा आयोग गठन भएको २ वर्षपछि बितिसक्दा पनि प्रदेश १ मा विषयगत कर्मचारीको पदपुर्ति सम्भव हुन सकेको छैन ।
प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतमा कार्यालयहरुमा विषयगत कर्मचारीको अभाव हुँदा कार्यसम्पादन समेत जटिल बन्दै गएको छ । साउन २९ गते शुक्रबार पहिलो पटक प्रदेश १ मा लोकसेवा आयोगले इन्जिनियरिङ तर्फ चौथो र पाँचौ तहको पदका लागि परीक्षा लियो ।
आयोगले पहिलो चरणमा आव्हान गरेको ११६ पदका लागि १० हजार १४७ जनाको दरखास्त दिए । चौथो तहमा ८३.२९ र पाँचौं तहमा ८४.२० प्रतिशतले परीक्षा दिए । कर्मचारी समायोजनमा स्थानीय तहमा कर्मचारी जान नमानेको भएपनि प्रदेश लोकसेवाले आव्हान गरेको दरखास्तमा भने छुट्टै आर्कषण देखियो ।
तर, लोकसेवा आयोग गठन भएको २ वर्ष बितिसक्दा पनि प्रदेश तहमा भने विषयगत कर्मचारीको पदपुर्तिका लागि आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन । प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका कार्यालयहरुमा कर्मचारीको चरम अभाव छ । जसले गर्दा कार्य सम्पादन चुनौतीपूर्ण बन्नुका साथै भएका कर्मचारीले बाँडीचुडी काम गर्नुपर्ने अवस्था रहेको प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए ।
प्रदेशका मन्त्रालय र मातहतका कार्यालयहरुमा हाल ८ देखि १० जनाको दरबन्दी हुनुपर्नेमा ३ देखि ४ जनाले काम गरिरहेका छन् । नवौं र दशौंं तहको कर्मचारी हुनुपर्ने ठाउँमा छैठौं तहको कर्मचारीले सबैको कार्यभार सम्हालिरहेका छन् । आवश्यक दरबन्दीको अभावमा करारमा कर्मचारी राखेर कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ । तर, करारका कर्मचारीहरु पनि कार्यालय प्रमुख र आर्थिक कारोबारमा संलग्न हुन नपाउने व्यवस्थाका कारण यसप्रति पनि उनीहरुको आकर्षण घट्दो छ ।
प्रदेश सरकारको भौैतिक पूर्र्वाधार विकास मन्त्रालयको अवस्था पनि उस्तै छ । मन्त्रालय अन्र्तगतको स्वीकृत दरबन्दी ६६७ भएपनि हाल मन्त्रालय र मातहतका कार्यालयहरुमा ३३ प्रतिशत कर्मचारीको अभाव छ । मन्त्रालयले इन्जिनियर र सब–इन्जिनियर गरेर करारमा २९ जना प्राविधिक कर्मचारी नियुक्ति गरेको छ । तर, करारमा कर्मचारी राख्न नमिल्ने भएकाले विविध सेवा र प्रशासन तर्फ १७ तथा उप–सचिव तर्फ १३ जनाको पद भने अझैै रिक्त छ । जसले गर्दा भएका कर्मचारीहरुले पनि अपनत्व ग्रहण गरेर कार्य सम्पादन गर्न नसकेको मन्त्रालयका सुचना अधिकारी इन्जिनियर ओम प्रकाश साहले बताए ।
अहिले स्थानीय तहमा कर्मचारीको अभाव देखिएपछि मागको आधारमा विज्ञापन खुलाएर आयोगले कृषि प्रसार, हर्टीकल्चर, कृषि प्रसार, बाली संरक्षण र भेटनरी लगायतका पदमा कर्मचारी भर्नाको माग गरेको छ । इन्जिनियरिङ तर्फ सर्भे चौथो र पाँचौ तथा शिक्षा प्राविधिक सहायक तर्फ पाँचौ तहमा पनि दरखास्त आव्हान गरिएको छ । तर, प्रदेश सरकारका तर्फबाट भने आवश्यक दरबन्दीका लागि कुनै किसिमको माग नभएकाले आयोगले पनि पदपुर्तिको प्रक्रिया अघि नबढाएको प्रदेश लोक सेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले बताए । प्रदेश सरकारले भने संघीय निजामती सेवा ऐनको अभावमा प्रदेशका कर्मचारीहरुको पदपुर्ति गर्न नसकिएको जनाएको छ ।