विराटनगर । नेकपा एमाले औपचारिक विभाजन भएसँगै प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।
एमालेबाट विभाजन भएर नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि लागि निर्वाचन आयोगमा पुगेको माधव नेपाल समूहमा प्रदेश १ का १५ सांसद रहेका छन् । जसमा प्रदेशसभा सदस्यहरू लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी र कृष्णकुमारी राई छन् ।
१४ जनाले नै नयाँ पार्टी रोजेको खण्डमा प्रदेश सरकारले विश्वासको मत गुमाउने छ । ९३ जना सांसद रहेको प्रदेश १ प्रदेशसभामा सभामुखसहित एमालेका ५१ जना सांसद छन् । अहिले प्रदेशसभामा एकल बहुमत प्राप्त गरिरहेको एमाले नेतृत्वको सरकारलाई १४ जना सांसदले नयाँ पार्टी रोजेसँगै यो संख्या घटेर ३६ मा झर्नेछ । जबकी प्रदेश १ मा बहुमत पु¥याउनका लागि ४७ सांसद आवश्यक पर्छ ।
कांग्रेसबाट कोइराला वा विभाजित एमालेबाट राईको मुख्यमन्त्री हुने सम्भावना
यसैबीच एमाले विभाजन भएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला मुख्यमन्त्री हुने सम्भावना बढेको छ । यस्तै विभाजित नेकपा एमाले समाजवादीका तर्फबाट राजेन्द्र राईको पनि मुख्यमन्त्री हुने चर्चा यसअघि देखि नै भइरहेको छ ।
संसदमा एमालेका ३६, कांग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, विभाजित एमाले समाजवादीका १५, राष्ट्रिय समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद रहेका छन् । यसअघि माओवादी केन्द्र संसदीय दलका नेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि उनी कारबाहीमा परेका छन् ।
नयाँ सरकार बनाउनका लागि कांग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, समाजवादी पार्टीको जोड्दा ५४ जना पुग्छ । यसकारण यही गठबन्धनबाट मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।