विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । मोरङ रतुवामाइ नगरपालिका ५ का ५२ वर्षीय धनबहादुर गुरूङको मंगलबार उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
मंगलबार दिउँसो मोरङ कारागारमा कोभिड १९ विरूद्धको खोप लगाउने कार्यक्रम थियो । खोप लगाउन कैदीबन्दी लामबद्ध भएर बसेका थिए । ‘लाइनमा धनबहादुर पनि बसेका थिए । खोप लगाउनुभन्दा अगाडि बेहोस भएर ढलेका थिए । तत्काल उपचार गर्न कोशी अस्पताल पु¥याउँदा उपचारको क्रममा मृत्यु भयो,’ मोरङ कारागारका जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । मृतक गुरूङ दीर्घ रोगी रहेको खुलेको छ । उनले यसअघि पनि धरानस्थित बीपी कोराईला विज्ञापन प्रतिष्ठानमा उपचार गराउँदै आएका थिए ।
जवरजस्ती करणी मुद्दामा गुरूङलाई मोरङ अदालतले १० वर्ष कैद सजायको सुनाएको थियो । उनी २०७४ वैशाख ५ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । मंगलबार कारागार भित्र ७ सय १५ पुरूष र १७ जना महिला गरि ७ सय ३२ जना कैदीबन्दीले कोभिड १९ विरूद्धको खोप लगाएको जेलर पोखरेलले जानकारी दिए ।
क्षमताभन्दा बढी कैदबीबन्दी रहेको मोरङ कारागरामा सोमबार पनि एक जना कैद भुक्तान गर्दै आएका कैदीको मृत्यु भएको थियो । लागूऔष मुद्दामा कैद भुक्तान गर्दै आएका धरानका ३० वर्षीय सुवास लिम्बूको कोशी अस्पतालमा मृत्यु भएको जेलर पोखरेलले बताए । ‘स्वासप्रश्वासमा समस्या भएपछि हामीले हस्पिटल लिएर गएका थियांै,’ उनले भने, ‘उपचारको क्रममा मृत्यु भयो ।’ मोरङ कारागारमा २ सय ५० जना क्षमताको कैदीबन्दी भएपनि अहिले तीन गुणा बढी रहेको उनले बताए । मंगलबारसम्ममा ९ सय ३७ जना कैदीबन्दी मोरङ कारागारमा रहेका छन् ।