कोसी करिडोर प्रसारण लाइनको पहिलो खण्डको निर्माण सकियो

विराटनगर । कोशी पहाडमा उत्पादिन बिजुली राष्ट्रिय प्रणालीमा जोड्नको लागि महत्वपूर्ण मानिएको कोसी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ ।

कूल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको कूल १०६ किलोमिटर २२० केभी डबल सर्किट क्षमताको प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।

अब कोसी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाले उत्पादन गर्ने बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सकिने भएको छ । सो प्रसारण लाइनमा कूल ३२६ टावर छन् । प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका आयोजनालाई राहत मिलेको छ ।

सो क्षेत्रका झण्डै दुई हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाको बिजुली सहजरुपमा प्रवाहका लागिसमेत पूर्वाधार तयार भएको विद्युत प्राधिकरणले जनाएको छ । सो प्रसारण लाइन मङ्गलबारदेखि ३३ केभीमा सञ्चालन गरिनेछ । इनरुवामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसनको निर्माण भने पूरा भएको छैन ।

सबस्टेसन निर्माण सम्पन्न नभएकाले तत्कालका लागि अस्थायी रूपमा प्रसारण लाइन ३३ केभीमा चार्ज गरिएको हो । त्यसबाट भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिनेछ ।

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोसी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा जोडिनेछ । तिरतिरे–वसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजना बर्खाका समयमा समेत पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाको जडित क्षमता करिब ३३ मेगावाट छ ।

निर्माणाधीन अन्य प्रसारण लाइन आयोजनाको तुलनामा ठूलो र लामो लाइन छिटो निर्माण सम्पन्न भएर रेकर्ड पनि कायम भएको विद्युत प्राधिकरणले जनाएको छ । तेह्रथुम पावर कम्पनीका प्रमुख मोहन डाँगीले प्रसारण लाइन सम्पन्न भएका कारण आफूहरूलाई राहत भएको प्रतिक्रिया दिएका छन् ।

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी खरिद सम्झौता गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ भने दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सबस्टेसन निर्माण गर्ने प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ ।

मङ्गलबार, ०१ भदौ, २०७८, बिहानको ११:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर