एमाले विभाजन निश्चित, नेपाल पक्षले थाल्यो नयाँ दल खोल्न हस्ताक्षर अभियान

'अहिलेसम्म ६५ जना केन्द्रीय सदस्यहरुले नयाँ दल खोल्ने पक्षमा हस्ताक्षर गरिसक्नु भएको छ, यो साताभित्र सबैले हस्ताक्षर गरिसक्नेछन् ।’

विराटनगर । एमालेभित्रको माधव नेपाल पक्षले नयाँ दल खोल्नका लागि हस्ताक्षर अभियान सुरु गरेको छ । सोमबारसम्ममा ६५ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरिसकेका छन ।

यो हस्ताक्षर अभियानसगै एमाले विभाजित बन्ने निश्चित प्रायः भएको छ । एमालेभित्र नेपाल र ओलीको टकाराव उत्कर्षमा छ । हस्ताक्षर अभियानको नेतृत्व डाक्टर विजय पौडेल, जगन्नाथ खतिवडा र प्रकाश ज्वालाले नेतृत्व गरेका छन् । ‘अहिलेसम्म ६५ जना केन्द्रीय सदस्यहरुले नयाँ दल खोल्ने पक्षमा हस्ताक्षर गरिसक्नु भएको छ’ एक जना हस्ताक्षरकर्ता नेताले हाम्रोमतसँग भने, ‘यो साताभित्र हाम्रो पक्षका सबैले हस्ताक्षर गरिसक्नेछन् ।’

एमाले उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपालले सो हस्ताक्षर पत्रमा स्थायी कमिटीका कसैलाई पनि हस्ताक्षर नगराउन निर्देशन दिएका छन । एमाले पोलिट्ब्युरो र केन्द्रमा रहेका आफ्ना पक्षका सबैले हस्ताक्षर गरिसकेपछि स्थायी कमिटीका सदस्यहरुलाई सोध्ने रणनीति नेपालको रहेको स्रोतको भनाइ छ ।

‘ओलीले कसैलाई मुख्यमन्त्री, कसैलाई पार्टीको जिम्मेवारी दिने लोभ देखाएपछि लोभिएका साथीहरू अहिले ओलीले धोका दिएको ठहरमा पुगेका छन्’, ती नेताले भने, ‘उनीहरू न नेपाललाई छोड्न सक्ने क्षमता राख्छन् न ओलीसामु झुकेको देखिन चाहन्छन् । त्यसैले उनीहरूले पनि हस्ताक्षर गर्नेछन ।’ सुरेन्द्र पाण्डे र योगेश भट्टराईको भूमिका शंकास्पद रहेको ती नेताको भनाइ छ ।

१० बुँदे सहमति ओलीले निरन्तर लत्याएको भन्दै वार्ता कार्यदलका सद्स्यहरु नै आक्रोशित बनेका छन । ‘तर, उहाँहरुलाई भाउ दिने पक्षमा नेता नेपाल र केन्द्रीय सदस्यहरु कोहि हुनुहुन्न,’ ती नेताले भने, ‘जो सुकै जता लागुन अब हामी ओली भए ठाउँमा रहन्नौ । यो दृढता सबैमा छ ।’

सोमबार, २५ साउन, २०७८, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर