विराटनगर । प्रदेश १ सरकारकी सामाजिक विकास मन्त्री उषाकला राई खोपमा अनियमितता गरेको आरोपमा सुरुमै विवादमा मुछिइन् । विराटनगर महानगर प्रमुख भीम पराजुली मध्यरातमा स्थानीयबासीबाट लखेटिनु पर्यो ।
जनप्रतिनिधिले खोपमा यस्तो हर्कत गरेको केही समय नबित्दै झापाको बिर्तामोडमा खोपसहित नगर कर्मचारी होटलबाट पक्राउ परे । कोरोना नियन्त्रण, उपचारमा ठोस योजना नल्याएको आलोचना खेपिरहेका प्रदेश र स्थानीय सरकारहरु क्रमशः सेटिङ राज चलाएर खोपमा समेत बद्मासी गरिरहेका छन् ।
विराटनगर महानगरपालिका प्रमुख पराजुलीले काँग्रेस कार्यकर्ता र निकटहरुलाई लगाइदिन भन्दै खोप नै बोकेर मध्यरातमा घर–घरै पुगेको घटना सेलाउन नपाउँदै झापाको बिर्तामोडमा स्वास्थ्यकर्मीको अर्को बदमासी भेटिएको छ ।
कोरोनाविरुद्धको खोप अभियान चलिरहेका बेला सरकारी निकायले गरेका लापरबाही एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । यसले खोपमा जनप्रतिनिधि र कर्मचारीहरुले कसरी बद्मासी गरिरहेका छन् भन्ने पनि उदाङ्गो पारेको छ ।
यसअघि विराटनगरमा सामाजिक विकास मन्त्री उषाकला राईको निर्देशनमा एमाले निकट उद्योगी व्यवसायीलाई गुपचुपमै खोप दिइएको थियो । सिटी सिनेमा काण्डले चर्चित बनेको त्यो घटनापछि एकपछि अर्को यस्तै बद्मासीका घटना सार्वजनिक भइरहेका छन् ।
सर्वसाधारण नागरिकले एक डोज खोपका लागि भौतारिनु परिरहेका बेला झापाको बिर्तामोडस्थित एक होटलमा लुकाएर राखिएको अवस्थामा कोरोनाविरुद्धको १ सय भायल खोप बरामद भएपछि कर्मचारीको बद्मासी बाहिरिएको थियो । उक्त खोप नातेदार र आफन्तलाई लगाउँदै गरेको अवस्थामा त्यहाँस्थित स्वास्थ्य प्रमुख नै पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका–१ स्थित होटल टायम लेसमा लुकाएको १०० भायल खोपसहित बिर्तामोड नगरपालिकाको कार्यालयका जनस्वास्थ्य प्रमुख ओम खड्का पक्राउ परेका हुन् । उनलाई सत्तारूढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेकार्यकर्ताको समूहले समातेका हुन् । होटलबाट बरामद खोप प्रतिभायल दुई डोज रहेको खुलेको छ ।
उनले केही दिनयता त्यही होटलमा नातेदार र अन्य नजिकका मानिसहरुलाई बोलाएर खोप लगाउने गरेको सूचना दलका कार्यकर्ताले पाएका थिए । त्यसपछि उनलाई माओवादी केन्द्रका कार्यकर्ताले शुक्रबार अपरान्ह ४ बजे उक्त परिमाणको खोपसहित नियन्त्रणमा लिएका हुन् । खड्काले होटेलको एउटा कोठाको दराजमा उक्त खोप लुकाएको भेटिएको छ। दलका कार्यकर्ताले थाहा पाएपछि खड्काले सरकाले सिलबन्दी गरेको कार्टुन फुटाएर त्यहाँबाट पनि खोप अन्यत्र लुकाएको खुलेको छ ।
होटलकै कर्मचारीको मिलेमतोमा खोप लुकाएको पाइएपछि दलका कार्यकर्ता आक्रोशित भएका थिए । दराजबाट झिकेर होटेलको रिसेप्सनमा राखिएको टेबलमा लुकाइएको अवस्थामा खोप भेटिएको थियो ।
तर उता खड्काले कोरोनाका कारण आफू होटेलमा नै क्वारेन्टाइनमा बसेको हुनाले खोप पनि ल्याएको जिकिर गरेका छन् । तर होटलको दर्ता विवरणमा उनी शुक्रबार मात्रै त्यहाँ पुगेको भेटिएको छ । तर उनी दिन बिराउँदै त्यो होटलमा बसिरहेको खुलेको छ ।
औषधिसहितका अन्य स्वास्थ्य सामाग्रीका व्यापारीसमेत रहेका खड्काले कोरोना संक्रमण सुरू भएयता भ्रष्टाचार गरेको आरोप पनि लागेको छ। उनले आफ्नै फर्मका लाखौं मूल्यका सामाग्री नियमविपरीत नगरपालिकाको नाममा खरिद गराएको पनि बताइएको छ ।
यता झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले प्रहरीले खोप बरामद गरिसकेको बताउँदै थप छानबिन भइरहेको उल्लेख गरेका छन् । दलका कार्यकर्ताले समातेका खड्कालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
जनप्रतिनिधिदेखि कर्मचारीसम्मले पदीय दायित्व र मर्यादा भुल्दा यस्तो अवस्था आएको सर्वसाधारण बताउँछन् । ‘प्रदेश सरकारको मन्त्रीका लागि पार्टीका व्यापारी प्राथमिकतामा पर्ने, महानगरका मेयरका लागि आफ्ना कार्यकर्ता मात्रै प्राथमकितामा पर्ने भएपछि उनीहरुबाट जनताले के अपेक्षा गर्ने ’, विराटनगरका भोलाप्रसाद दाहाल भन्छन् ‘यो एकदमै गैरजिम्मेवार शैली हो । यसले उनीहरु पदको मर्यादा राख्न असफल भएको देखाउँछ ।’