उर्लाबारीमा ओली समूहको बैठकमा आक्रमण, बैठक बिथोलियो

विराटनगर । फुटको संघारमा पुगेको नेकपा एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा आक्रमण र तोडफोड भएको छ ।

ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै विस्तारित बैठक आव्हान गरेको थियो । उक्त भेला सुरु हुनुभन्दा अगाडि नै आपसमा झडप हुँदा बैठक विथोलिएको हो । सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको बताए । ‘किन र कसले तोडफोड ग¥यो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।

ओली समूहले भने माधव समूहका कार्यकर्ताले तोडफोड गरेको हुनसक्ने आशङ्का गरेका छन् । तर, माधव समूहका नगर संयोजक गंगा बास्तोलाले आफूलाई बैठकमा भएको तोडफोडको विषयमा जानकारी नभएको बताए । आफ्नो समूहका कोही पनि सदस्यलाई उक्त बैठकमा नजान यसअघि नै निर्देशन गरेको बताउँदै उनले आफूहरुको बद्नाम गर्नका लागि ओली समूहले सुनियोजित रुपमा हल्ला चलाएको हुनसक्ने बताए ।

स्रोतका अनुसार ओली समूहको कमिटिमा कसलाई राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा आपसमा झडप भएको हो । सो बैठकमा संविधानसभा सदस्य तथा एमाले ओली समूहका मोरङ अध्यक्ष ऋषिकेस पोखरेललगायतको सहभागीता हुने भनिएको थियो ।

 

 

बिहिबार, ०७ साउन, २०७८, दिउँसोको १२:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर