विराटनगर । केन्द्रमा पार्टी मिलाउन भन्दै सक्रिय रहेका एमाले सचिव भीम आचार्य प्रदेश १ मा आफ्नै समूहभित्रै एक्लिएका छन् । पार्टी एकताका नाममा ओलीगुटमा प्रवेश गर्ने बाटोमा लागेको आरोप लगाउँदै प्रदेश १ का अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरुले अब आचार्य आफ्नो समूहको नेता नरहने बताएका छन् ।
एमालेका प्रभावशाली युवा नेता राजेन्द्र राईले आचार्यलाई ‘वेटलेस’ र ‘कसैले पनि नपत्याउने’ नेताका रुपमा सार्वजनिक रुपमा आलोचना गरेका छन् । एमालेको माधव नेपाल समूहका पनि निर्णायक नेता मानिने राईले सामाजिक सञ्जाल फेसबुकमै आचार्यविरुद्ध यस्तो टिप्पणी गरेपछि एमाले नेपाल समूहको विवाद बाहिर आएको हो । तर, विवादको सुरुआत यसअघि नै प्रदेश १ मा भइसकेको थियो ।
एमाले सचिवसमेत रहेका आचार्य माधव नेपाल निवासबाट छलफल सकेर बाहिरिँदै थिए । पत्रकारले उनलाई घेरे अनि सोधे ‘प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भन्नुभयो, तपाइँहरुको समूहले के गर्छ ?’ नेपालदेखि झलनाथ खनालसम्मले देउवालाई विश्वासको मत दिएर संसद् र संविधान बचाउन आह्वान गरिरहेका बेला नेता आचार्यले दिएको जवाफ एमालेकै नेपाल समूहका नेताहरुका लागि अनपेक्षित थियो ।
आचार्यले सञ्चारकर्मीलाई भने ‘देउवाले आजै विश्वासको मत लिने निर्णय गरेर एमाले फुटाउने षड्यन्त्र गरे ।’ आचार्यको यही भनाइ समेटिएको समाचार पत्रकार मातृका पौडेलले सेयर गरे । पौडेलको समाचारमाथि राईले कमेन्ट गरे ‘यी साथीको इन्टरभ्यू, कमेन्ट राखेर प्रेसको वेटेज नघटाउँ न मातृकाजी ।’
राजेन्द्र राई तिनै नेता पनि हुन्, जसले भीम आचार्यलाई प्रदेशको मुख्यमन्त्री बनाउन दुई पटकसम्म असफल प्रयास गरेका थिए । पहिलो पटक शेरधन राईसँग संसदीय दलमा र दोस्रो पटक नेकपा छँदै अविश्वास प्रस्तावका बेला । तर, अचानक कसरी वेटलेस् र कतै प्रभाव नपर्ने भन्ने तहमा पुगे राई ? के आचार्यलाई यसो भन्ने राई एक्ला नेता हुन् ?
‘कहाँ एक्लै हुनु, अब भीम आचार्य चाहिँ प्रदेशमा एक्लिए’, एमाले माधव समूहबाट पार्टी केन्द्रमा रहेका एक नेताले हाम्रोमतसँग भने ‘उनी पछिल्लो समयमा कसरी हुन्छ ओली गुटमा प्रवेश गर्न खोजिरहेका छन् । त्यो बुझेपछि उनको साथ हामी धेरैले छाडिसकेका छौं ।’ ती केन्द्रीय सदस्यको तर्क छ ‘प्रदेश १ मा माधव नेपाललाई हेरेर एमाले भएका धेरै होलान् कि भीम आचार्यलाई, त्यसैले हामी नेपालको पक्षमा दृढतापूर्वक उभिन्छौं । आचार्य एजेण्डाहीन देखिए । उहाँको पछि लागिन्न ।’
सुनसरीकी सावित्री जोशी र संखुवासभाका तुलसी न्यौपाने बाहेकका माधव नेपाल समूहका अधिकांशले आचार्यको साथ छाडेको बताइएको छ । न्यौपाने भने यसअघि नै मुख्यमन्त्री शेरधन राईमार्फत ओली समूहमा प्रवेश गरिसकेका नेता हुन् ।
केही समयअघि मात्रै एमाले माधव नेपाल समूहका प्रदेशका सांसदहरुको बैठक आयोजना भएको थियो, जहाँ उनीहरुले भीम आचार्यलाई बोलाउँदै बोलाएनन् । ‘उहाँको गतिविधि पूरै शंकास्पद देखियो’, एक सांसदले भनेका थिए ‘त्यसैले उहाँलाई नबोलाइएको हो ।’ ती सांसदका अनुसार अध्यक्ष ओलीले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरुलाई फिर्ता गराउन आचार्यलाई पनि गुहारेका थिए ।
ओलीले समय अनुकुल मिलाएर मुख्यमन्त्री बनाइदिने वचन दिएपछि एकता कि एकता भन्दै आचार्य दौडिएको आरोप छ । एमाले जोगाउने भन्दै आफ्नै समूहका नेताहरुसँग टाढिएका नेता आचार्य ओली समूहका नेतामाझ झनै तिरस्कृत छन् । ‘यता कसले पत्याउँछ उनलाई’, प्रदेश १ मन्त्रीपरिषदका एक सदस्य भन्छन् ‘उहाँकै गुटमा एक्लो भएको मान्छेलाई हामी पत्याउँछौं होला र ?’
एमाले स्रोतका अनुसार आचार्यलाई मुख्यमन्त्री बनाउन पछिल्लो समयमा लविङ गरेका अधिकांश प्रदेशका सांसद उनीसँग बिच्केका छन् । आचार्यविनाको बैठकमा बोल्ने अधिकांश सांसदहरुले अब समूहमा नेता फेर्नुपर्ने बताएका थिए । सांसदहरु लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बु, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ राजेन्द्रकुमार राई, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ उनीसँग आक्रोशित छन् । सो बैठकमा सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, यशोदा अधिकारी, राजन राई, बलबहादुर साम्सोहाङ, कृष्णकुमारी राईलगायत प्रदेशसभा सदस्य सहभागी भएको बताइएको छ ।
एमालेको माधव नेपाल समूहका नेताका रुपमा आचार्यलाई कुनैबेला २६ जना सांसदको समर्थन थियो । तर, मुख्यमन्त्री राईसँग दलको नेतामा उनले २४ मत मात्र प्राप्त गरेर पराजित भएका थिए । राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दा तत्कालिन नेकपामा उनले आफ्ना सांसद टिकाउन सकेनन् । उनकै कारण नेपाल समूहमा रहेका उषाकला राई, राजकुमार ओझा र कला घले ओली गुटमा प्रवेश गरेर मन्त्री भएका छन् । यस्तै गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, जसमाया गजमेर, बसन्ती यादवलगायत सांसदले पनि साथ छाडेर ओली पक्षमा लागेका छन् ।अन्तिम अवस्थामा एमालेतर्फका २० जना सांसद आचार्यको पक्षमा उभिएका थिए । अब भने उनीसँग बढिमा २ जना सांसद मात्र रहेको एमाले सांसदहरुको दावी छ । एजेण्डा, अडान र इमान्दारी नदेखाइ पदलोलुप हुँदाको परिणाम उनी एक्लिएका हुन् ।
तपाईंको साथ् मा छु क. भिम आचार्य ज्यु