चीनद्वारा देउवालाई बधाई, थप १६ लाख खोप अनुदान दिने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुगेकी चिनिया राजदुत हाउ यान्छीले नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने बचन दिएकी छिन् । प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

यसअघि नै चीनबाट अनुदानको १८ लाख डोज कोरोना खोप आइसकेको छ भने थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता भइसकेको छ । खरिद भएको खोपमध्ये आठ लाख डोज खोप भने आइसकेको छ ।

देउवालाई चीनले बधाईसमेत नदिएको भनेर चर्चा भइरहेका बेला राजदूत यान्छीले बालुवाटार पुगेरै बधाईसँगै थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई दिने भएपछि गठबन्धनका दलहरुलाई राहत भएको छ ।

प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताएकी थिइन्। यसअघि मित्र राष्ट्र अमेरिका र भारतका राजदूत प्रधानमन्त्री देउवालाई बधाई दिन उनकै निवास बुढानिलकण्ठ पुगेका थिए।

शुक्रबार, ०१ साउन, २०७८, साँझको ०५:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर