काठमाडौं । विवादका कारण फुटको संघारमा पुगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने तर्क गरेका छन् ।
नेकपा एमालेको संसदीय दल (ओली पक्ष)को बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो संकेत गरेका हुन् । एमाले संसदीय दलको बैठक आज पार्टी कार्यालय च्यासलमा बसेको थियो ।
दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतले कीर्ते कागजलाई मान्यता दिएको दाबी पनि गरे । ‘निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो,’ उनले भने, ‘यो फैसलामा हाम्रो सहमति छैन । तर हामी लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेका छौं ।’
एमालेविरुद्ध अझै षड्यन्त्र हुने भन्दै उनले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुनसक्ने बताए । ओलीले अघि भने, ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’