प्रदेश सरकारको बजेट : नेताका नाममा करोडौं

३५ सय प्रजाति संरक्षण गर्न ५ लाख बजेट !

विराटनगर । नेताका नाममा स्मारक र मनोरञ्जन पार्कहरु बनाउन वर्षेनी करोडौं रुपैयाँ छुट्याउन प्रदेश १ सरकारले जैबिक विविधताको संरक्षणका लागि बनस्पति र्पाक निर्माण गर्न चासो दिएको छैन ।

सरकारले बनस्पति पार्क निर्माणमा चासो नदिँदा प्रदेश १ मा मूल्यवान जडिबुटी र बहुमुल्य वनस्पति प्रजातिहरुको पहिचान र संरक्षणको विस्तार हुन सकेको छैन ।

आगामी आर्थिक वर्षमा प्रदेश १ सरकारले राजनेताको स्मारक बनाउन भन्दै २ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै विभिन्न जिल्लामा सामुदायिक र मनोरञ्जन पार्क निर्माण गराउन भनेर करोडौ रुपैयाँ छुट्याइएको छ ।

तर, जैविक विविधताको संरक्षण र पहिचानका लागि अति आवश्यक पर्ने वनस्पति पार्क (उद्यान) निर्माणको संभाव्यता अध्यन गर्न मात्र ५ लाख रुपैयाँ छुट्याएको पाइएको छ । प्रदेश १ मा बहुमूल्य, दुर्लभ र महंगा प्रजातिसहितका ३५ सय फुल फुल्ने वनस्पतिहरु रहेको विज्ञहरु बताउँछन् । तर, तीनको पहिचान र संरक्षणका लागि हालसम्म प्रदेशमा एउटा पनि वनस्पति उद्यान छैन ।

धेरैले त्यस्ता वनस्पतिहरु चिन्न पाएका छैनन् भने संरक्षण पनि हुन सकेको छैन । पहिचान र संरक्षण अभावमा धेरै मूल्यवान र दुर्लभ वनस्पतिहरु मासिदै गएका छन् । प्रदेश १ वन मन्त्रालयको जैबिक विविधता शाखाले प्रकाशन गरेको अनुसन्धामुलक ‘प्रदेशका बनस्पतीका प्रजातिहरु’ नामको पुस्तकका अनुसार प्रदेशमा पाइने फुल फुल्ने ३५ सय प्रजातिमध्ये ३२ प्रकारका गुराँस, २ सय ३७ प्रजातिका सुनाखरी, ९ सय २४ प्रजातिका जडिबुटी, २ सय ७३ प्रकारका लहरे प्रजातिका बनस्पति छन् । यसैगरि ५ सय २६ बुट्यान, ३ सय ९८ रुख र २३ सय ३ प्रकारका झारपत्र प्रजातिका वनस्पति प्रदेशमा रहेका छन् ।

बिज्ञहरु केशव राजभण्डारी, राजेश तामाङ, रिता क्षेत्री, सुभाष खत्री, मोहनदेव जोशी र सञ्जिवकुमार राईले संकलन गरेर तयार गरेको पुस्तकमा उल्लेख भए अनुसार नेपालमा कुल ६५ सय प्रकारका बनस्पति प्रजाति पाइन्छन् । तीमध्ये ६९ प्रतिशत प्रदेश १ मा रहेका छन् । हाल प्रदेशमा पाइने ५० प्रतिशत प्रजातिको नमुना संकलन भइसकेको छ ।

प्रदेश १ मा ७४ प्रजाति विश्वमै नपाइने अतिदुर्लभ प्रकारका वनस्पति पनि छन् । प्रदेशमा पाइने ९ सय २४ प्रकारका जडिबुटीमध्ये धेरै ‘हाइभ्यालु’ अर्थात महंगो मूल्य पर्ने प्रजातिका छन् । तर, त्यसको अझै पूर्ण अनुसन्धान नभएको विज्ञहरुको भनाइ छ ।

प्रदेशमा विश्वमा ओसारपसार गर्न नपाइने साईटिष्ट लिष्टमा परेका एक सय प्रजातिका बनस्पति छन् । अन्तराष्ट्रिय प्रकृति संरक्षण कोषले दुर्लभ भनेर सूचीकृत गरेका १६ प्रकारका बनस्पति प्रजाति पनि प्रदेश १ मा पाइएका छन् ।

प्रदेशमा संघीय सरकार मातहत इलामको माइपोखरीमा एक मात्र जिल्लास्तरको सानो वनस्पति उद्यान छ । तर, त्यो सानो उद्यानले मात्र प्रदेशका सबै भुगोलमा रहेका वनस्पतिको पहिचान र संरक्षण हुन नसक्ने प्रदेश १ वन मन्त्रालय जैविक विविधता शाखाका सहायक वनस्पति अधिकृत राजेश तामाङ बताउँछन् ।

प्रदेश १ मा देशकै होचो झापाको केचनकबलदेखि विश्वकै अग्लो सगरमाथासम्म पर्दछ । यहाँको हावापानी हिमाल, पहाड र तराई गरेर तीन तटमा फैलिएको छ । बंगालको खाडी पनि नजिक पर्ने भएकोले यहाँ अन्य प्रदेशमा भन्दा धेरै र बहुमूल्य र दुर्लभ बनस्पति प्रजाति छन् ।

वनस्पतिहरुको ‘पेटेन्टराईट’ अनुवांशिकी सुरक्षाका लागि हिमाल, पहाड र तराई तीनवटै क्षेत्रमा बृहत बनस्पति उद्यान (बोटानिकल गार्डेन) स्थापना गर्न आवश्यक भएको अध्येतासमेत रहेका वनस्पति विज्ञ राजेश तामाङको भनाइ छ । उनका अनुसार सरकारले चासो दिएर हिमाल, पहाड र तराईमा अलग–अलग वनस्पति उद्यान स्थापना गर्नुपर्छ ।

‘हरियो बन नेपालका धन अनि मौलिक हावापानी र बनस्पतिको धनी भनेर मात्र हुदैन’ उनले भने, ‘बेलैमा बनस्पति उद्यानहरु स्थापना गरेर दुर्लभ र बहुमुल्य वनस्पतिहरुको संरक्षण गर्न सकेमात्र आफ्नो पहिचान जोगिने र विकासमा पनि टेवा पुग्नेछ ।’

शुक्रबार, ०१ साउन, २०७८, बिहानको ११:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर